निर्वाचनको सुरक्षा तयारी पूरा

प्रदेशदेखि वडा तहसम्मै सर्वदलीय बैठक सकियो, बुथ निर्माण तीव्र

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण
निर्वाचनको सुरक्षा तयारी पूरा

उदयपुरको गाईघाटस्थित त्रियुगा मावि मतदानस्थलमा बुथ निर्माण गरिँदै । तस्बिर : विदुर कटुवाल/नयाँ पत्रिका

  • २४ स्थानमा हेलिकोप्टरबाट मतदान सामग्री ढुवानी 

सरकारले निर्वाचन सुरक्षाका सबै प्रबन्ध तयार भएको जनाएको छ । मुलुकभरका सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको र उनीहरूले तोकिएको जिम्मेवारी सम्हालेको गृह मन्त्रालयले जनाएको हो । 

गृहप्रवक्ता आनन्द काफ्लेका अनुसार सुरक्षाकर्मीहरू आफू खटिएको मतदानस्थलमा बुथ निर्माणमा जुटिरहेका छन् । ‘मुलुकभरका सम्पूर्ण निर्वाचनस्थलमा सुरक्षाकर्मी पुगेका छन् । उनीहरू सम्बन्धित निर्वाचनस्थलका बुथ निर्माणदेखि सुरक्षाका आवश्यक प्रबन्ध मिलाउने काम गरिरहेका छन् । समग्रमा भन्नुपर्दा अब मतदाताले मत हाल्न मात्रै बाँकी छ, निर्वाचनका लागि आवश्यक सुरक्षाका सबै प्रबन्ध पूरा भएको छ,’ उनले भने । निर्वाचन सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी खटिएका छन् । 

सरकारले सुरक्षालाई थप प्रभावकारी बनाउन केन्द्रसहित प्रदेश, जिल्ला र स्थानीय तहलाई समेत सक्रिय पार्ने रणनीति लिएको छ । त्यसका लागि प्रदेशदेखि वडा तहसम्म सर्वदलीय बैठक गरेको छ । गृहप्रवक्ता काफ्लेले मंगलबार साँझसम्म प्रदेश, जिल्ला, पालिका र वडासम्म सबै तहमा सर्वदलीय बैठक बसिसकेको बताए ।

‘यसपटकको निर्वाचनमा हामीले प्रदेश, जिल्ला र स्थानीय तह मात्रै होइन, वडा तहलाई पनि सक्रिय बनायौँ । सबैलाई आ–आफ्नो तहमा सर्वदलीय बैठक राख्न भन्यौँ । सोहीअनुसार सबैले बैठक राखेका छन्,’ उनले भने, ‘प्रदेशदेखि वडासम्मको सर्वदलीय बैठकका कारण राजनीतिक सौहार्दता बढाएको छ । यसले समग्र सुरक्षा प्रबन्ध थप मजबुत भएको छ । अब मतदानका लागि मैदान तयार भएको छ ।’ गृहले प्रदेशस्तरका नेताबिच सर्वदलीय बैठक राख्न प्रदेश सरकारलाई र जिल्लास्तरका नेताबिच सर्वदलीय बैठक राख्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको थियो । त्यस्तै, स्थानीय तह र मातहतका वडास्तरीय नेताबिच सर्वदलीय बैठक राख्ने जिम्मा तत्तत् निकायलाई नै भनेको थियो ।

निर्वाचनको मिति घोषणा भएदेखि नै चुनौतीका पाटा पक्षमध्ये महत्वपूर्ण ठानिएको एक थियो मौसमको खराबी । तर, मतदानको दिन देशभरको मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान छ । केही भागमा धुम्म देखिएको मौसम तुवाँलोका कारण भएको र त्यसले निर्वाचनमा असर नगर्ने मौसमविद्हरूले जनाएका छन् ।  ‘बुधबार र बिहीबार वर्षाको सम्भावना छैन । नयाँ सिस्टम आउने पनि देखिँदैन,’ मौसमविद् हरिप्रसाद दाहालले भने, ‘कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । बिहान तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ ।’ 

गृहले पनि मौसमका कारण चुनावलाई चुनौती नरहेको निष्कर्ष निकालेको छ । ‘आसन्न निर्वाचनमा सबैभन्दा ठुलो चुनौती मौसम हो कि भन्ने गुनासा प्राप्त भइरहेका थिए । यसलाई पनि हामी मिहिन ढंगले हेर्र्यौँ । यही अवधिमा ३० वर्षअघि देखिएको मौसम विवरणसमेत विश्लेषण गर्यौँ,’ गृहप्रवक्ता काफ्लेले भने, ‘तर, २१ फागुनका दिन मौसमले खासै ठुलो प्रभाव नपार्ने रिपोर्ट आयो । अब निर्वाचनलाई मौसमजन्य चुनौती छैन ।’

निर्वाचन आयोगले मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । जसमा २३ हजार ११२ निर्वाचन केन्द्र निर्धारण गरिएका छन् । निर्वाचनस्थलको संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । अतिसंवेदनशील निर्वाचनस्थलमा १३ देखि ८० जनासम्म, संवेदनशीलमा ९ र सामान्यमा ६ जना सुरक्षाकर्मी परिचालन गरेको छ । खटाइएका कुल तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मीमध्ये सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ०९० र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर एक हजार ९२१ छन् । 

४६ सय १४ निर्वाचनस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । जसमध्ये सबैभन्दा धेरै बागमतीमा १२ सय ८८ र मधेश प्रदेशमा १२ सय ४६ छन् । त्यस्तै, उपत्यकामा १२, कोशीमा ४३९, गण्डकीमा ३२८, लुम्बिनीमा ४६२, कर्णालीमा ३५८ र सुदूरपश्चिममा ४८१ छन् । 

त्यस्तै, ४४ सय ४२ मतदानस्थल संवेदनशील सूचीमा राखिएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा २३७, कोशीमा ८२१, मधेशमा ७५५, बागमतीमा ४९७, गण्डकीमा ५७७, लुम्बिनीमा ७३८, कर्णालीमा ४२२ र सुदूरपश्चिममा ३९५ छन् । बाँकी २८ सय ४५ स्थल भने सामान्य सूचीमा राखिएका छन् ।

२४ स्थानमा हेलिकोप्टरमार्फत मतदान सामग्री ढुवानी 
सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगेका छन् । हिमाली जिल्ला डोल्पाका २० र हुम्लाका चार गरी २४ दुर्गम मतदानस्थलमा हेलिकोप्टरबाट ढुवानी गरिएको छ । १० हजार ९६७ मतदानस्थलमै कर्मचारी र सुरक्षाकर्मी खटिएर मतदानको तयारी गरिरहेका छन् । 

निर्वाचन बिथोल्न खोज्ने १४२ पक्राउ 
सुरक्षा संयन्त्रले विगतका निर्वाचनका तुलनामा यो निर्वाचन सुरक्षाका दृष्टिले कम चुनौतीपूर्ण ठानेको छ । किनभने घोषित रूपमै निर्वाचन बहिष्कार गर्ने ठुला राजनीतिक दल यसपटक छैनन् । यद्यपि, स–साना समूह र व्यक्तिले भने निर्वाचन बहिष्कार गरेका छन् । उनीहरूले निर्वाचन बिथोल्न विभिन्न गतिविधि पनि गरेका छन् । प्रहरीले यस्ता गतिविधिमा संलग्न १४२ जनालाई पक्राउ गरेको छ । जसमध्ये ७९ जना हिरासतमा छन् भने ६३ धरौटी तारेखमा छुटेको प्रहरी प्रवक्ता डिआइजी काफ्लेले बताए । प्रहरीका अनुसार यसपटक निर्वाचनमा झडपका घटना न्यून मात्रै भएका छन् । उम्मेदवारी दर्ता हुने दिन झापामा झडपका केही घटना भए पनि अन्यत्र शान्तिपूर्ण भएको प्रहरीको भनाइ छ । सुरक्षा सतर्कता मजबुत भएकाले झडपका घटना रोकिएको डिआइजी काफ्लेले बताए ।  

प्रदेशमा एआइजी र अतिसंवेदनशील जिल्लामा एसएसपीको कमान्ड 
निर्वाचनमा हुन सक्ने सुरक्षा खतरा टार्न प्रहरीले सातै प्रदेशमा एआइजीलाई खटाएको छ । अतिसंवेदनशील ठानिएका जिल्लामा एसएसपी र संवेदनशील मानिएका जिल्लामा एसपीको नेतृत्वमा थप सुरक्षाकर्मी खटाइएका छन् । प्रहरीका अनुसार कोशी प्रदेशमा एआइजी राजन अधिकारीलाई खटाइएको छ । जबकि प्रदेशको प्रहरी प्रमुख डिआइजी रहने व्यवस्था छ । त्यस्तै, सोही प्रदेशअन्तर्गत झापा र इलामको कमान्ड गर्ने गरी एसएसपी गोविन्द अधिकारीलाई खटाइएको छ । यी दुवै जिल्लामा प्रहरी प्रमुख एसपी रहने व्यवस्था छ । 

मधेश प्रदेशमा भने एआइजी डम्बर विकलाई खटाइएको छ । मधेस प्रदेशका सर्लाही र रौतहटको कमान्ड गर्ने जिम्मा एसएसपी सुरेश काफ्लेलाई दिइएको छ । दुवै जिल्लामा प्रहरी प्रमुख एसपी रहने व्यवस्था छ । बागमती प्रदेशको कमान्ड गर्ने जिम्मा एआइजी सिद्धिविक्रम शाहलाई दिइएको छ । सोही प्रदेशमातहतको दोलखामा एसपी नान्तिराज गुरुङलाई खटाइएको छ । जबकि यो जिल्लामा प्रहरी प्रमुख डिएसपी रहने व्यवस्था छ । सुरक्षा चुनौती अझै बिग्रन सक्ने आकलन भएपछि अहिले दोलखा र रामेछापलाई हेर्ने गरी एसएसपी समेन्द्रसिंह राठौरलाई समेत पठाइएको छ । त्यस्तै, काभ्रे र सिन्धुपाल्चोकमा भने एसएसपी विनोद सिलवाललाई पठाइएको छ । यी दुवै जिल्लामा एसपी प्रमुख रहने व्यवस्था छ । 

गण्डकी प्रदेशमा एआइजी डा. मनोज केसीलाई पठाइएको छ । गण्डकीका कास्की र स्याङ्जामा एसएसपी जनार्दन जिसीलाई खटाइएको छ । यी दुवै जिल्लाको सुरक्षा एसपीको नेतृत्वमा हुने व्यवस्था छ । 

त्यस्तै, लुम्बिनी प्रदेशमा एआइजी उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ । प्रदेशका दुई जिल्ला रुपन्देही र कपिलवस्तुको कमान्डर एसएसपी ऋषिराम कँडेललाई बनाइएको छ । यी दुवै जिल्लाको सुरक्षा नेतृत्वमा एसपी रहने व्यवस्था छ ।

कर्णालीमा  एआइजी सुशीलसिंह राठौर र सुदूरपश्चिममा एआइजी हिमालयकुमार श्रेष्ठलाई खटाइएको छ । काठमाडौं उपत्यकाको कमान्डर भने एआइजी ईश्वर कार्कीलाई तोकिएको छ । त्यसबाहेक एसएसपी रमेश बस्नेतलाई पनि उपत्यकाको निर्वाचन सुरक्षा हेर्ने जिम्मा दिइएको छ । नेपाल प्रहरीका अनुसार समग्रमा निर्वाचन प्रयोजनार्थ मुलुकभर ३१ एसएसपी, ४६ एसपी, ४४ डिएसपी र ११० इन्स्पेक्टरलाई थप मद्दतका लागि फिल्डमा खटाइएको छ । 

‘निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीका एआइजीलाई समेत फिल्डमा खटाइएको छ । कतिपय जिल्लामा एसएसपी पनि खटाइएका छन् । एआइजीहरूले मातहतका सम्पूर्ण जिल्लामा सुरक्षा प्रबन्धका सम्बन्धमा समन्वय गर्नुहुन्छ । एसएसपीहरूले सुरक्षा प्रबन्धमा देखिएका त्रुटिहरू औँल्याउनुहुन्छ र त्यसलाई कमान्डरहरूले अनुसरण गर्नुहुन्छ,’ गृहप्रवक्ता काफ्लेले भने । 

सुझावित समाचार