थन्किए ३६ लाख राष्ट्रिय परिचयपत्र

७५ लाख ३४ हजार कार्ड छापिए, ३९ लाख ३२ हजारले मात्र लगे

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

छापिएका लाखौँ राष्ट्रिय परिचयपत्र वितरण हुन नसक्दा त्यसै थन्किएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म ७५ लाख ३४ हजार ९६४ थान परिचयपत्र छापिएकोमा ३९ लाख ३२ हजार कार्ड मात्रै वितरण भएको हो । ३६ लाख दुई हजार ५२६ थान गोदाममै थन्किएका छन् ।

अत्यावश्यक र महत्वपूर्ण सेवाहरूमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि विवरण संकलन ठुलो मात्रामा भए पनि कार्ड वितरण भने अपेक्षाकृत छैन । विभागका अनुसार राष्ट्रिय परिचयपत्रका लागि एक करोड ९८ लाख ७२ हजार १८२ जनाको विवरण संकलन भएका छन् । आर्थिक वर्ष ०७५/७६ देखि नै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको हो । 

परिचयपत्रको विवरण दर्ता भएपछि पनि कार्ड वितरणसम्ममा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले लामो समय लाग्ने बताउँछन् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी तुलसीप्रसाद दाहाल । परिचयपत्र नम्बर मात्रैले पनि धेरै काम हुने भएपछि सेवाग्राहीहरू भौतिक रूपमा कार्ड लिन उत्साहित नभएको हुन सक्ने पनि उनको विश्लेषण छ । 

‘परिचयपत्र नम्बर भएपछि सेवाहरू पाउन सकिन्छ, कार्ड नै चाहिने बाध्यता हुँदैन । त्यसैले पनि मानिसहरू कार्ड लिन उत्साहित देखिएनन्,’ उनले भने, ‘कार्ड लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने र त्यसअघि नै उसलाई परिचयपत्र नम्बरले काम दिने भएकाले कार्ड लिनेबारे कम चासो छ । यद्यपि, कार्ड वितरणलाई अभियानका रूपमा विभागले अघि बढाएको छ । कार्डका सम्बन्धमा अहिले कुनै समस्या छैन ।’ 

विभागले जिल्ला, पालिका हुँदै वडास्तरसम्मै पुगेर परिचयपत्रका लागि विवरण संकलन अभियान चलाइसकेको छ । त्यसले विवरण संकलनमा संख्यात्मक रूपमा ठुलो प्रगति देखिए पनि कार्ड वितरण भने सोअनुरूप छैन । 

विभागको तथ्यांकअनुसार गत माघ महिनामा मात्र दुई लाख ३९ हजार ८९० परिचयपत्रको विवरण संकलन भएको छ । माघमै ३९ हजार २५३ कार्ड छपाइ भएर ६७ हजार ७१५ परिचयपत्र वितरण भएको छ ।

१२ सेवासँग परिचयपत्रको अन्तरआबद्धता, थुप्रै प्रक्रियामा 
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म १२ वटा सेवा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भएका छन् । राहदानी विभाग, घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको सामाजिक सुरक्षा भत्ता सेवा र व्यक्तिगत घटना दर्ता सेवा, कम्पनी रजिस्ट्रारको कार्यालय, नागरिक एप, चालक अनुमतिपत्र (बागमती प्रदेश), बैंक तथा वित्तीय सेवाका लागि कर्जा सूचना केन्द्र) विभागको प्रणालीसँग अन्तरआबद्ध छन् । त्यस्तै, निवृत्तिभरण व्यवस्थापन कार्यालय, वैदेशिक रोजगारसम्बन्धी सेवा, निर्वाचन आयोग, आन्तरिक राजस्व विभागको प्यान सेवा र राष्ट्रिय किताबखाना निजामती पनि विभागको प्रणालीसँग अन्तरआबद्ध भइसकेका छन् । 

यस्तै, पाँच सेवा तथा निकाय विभागको सूचना प्रणालीसँग अन्तरआबद्ध हुने गरी परीक्षण सम्पन्न भइसकेको अवस्थामा छन् । तिनमा स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष, यातायात व्यवस्था विभाग, नेपाल टेलिकम र एनसेल छन् । अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपत् व्यवस्थापनसम्बन्धी, अध्यागमन सेवा र बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरणसम्बन्धी सेवा पनि अन्तरआबद्धताको प्रक्रियामा छन् । भूमि व्यवस्था तथा अभिलेख विभाग, कर्मचारी सञ्चय कोष, चिकित्सा शिक्षा आयोग र नेपाल क्लियरिङ हाउस लिमिटेडबाट अन्तरआबद्धताका लागि अनुरोध भई आएको विभागको भनाइ छ ।
 

सुझावित समाचार