उदयपुरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत चौदण्डीगढी नगरपालिका–२ स्थित लाटी खोलाको पुलनजिक मंगलबार साँझ बमजस्तो देखिने वस्तु फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाका अनुसार सडकमा बमजस्तो देखिने वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली र पशुपतिप्रसाद गण पिपलटार ब्यारेकबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो।
प्रारम्भिक जाँचका क्रममा उक्त वस्तु विस्फोटक पदार्थ नभएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी थापाले जानकारी दिए।