नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। वाणिज्यविद्, पेट्रोलियम व्यवसायी र नेपाल राष्ट्रबैंकका प्रतिनिधिसमेतको उपस्थितिमा नाफिजले अन्तर्क्रिया गरेको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले पश्चिम एसियाको द्वन्द्वबाट नेपालमा पर्न सक्ने प्रभाव र ध्यान दिनुपर्ने विषयहरूमा धारणा राखेका थिए। नेपाल उद्योग वाणिज्य महासंघको पारवहन समितिका सभापति एवं पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताए।
यो द्वन्द्वका कारण उत्पादन घट्ने र आपूर्ति श्रृंखलामा समस्या पैदा गर्ने भए पनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ। केही दिनअघि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ।
यसैगरी, वाणिज्यविद् रविशंकर सैँजुले मध्यपूर्व तथा पश्चिम एसियामा हाल चर्किएको द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताए। ‘वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैँजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ।’
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौती थपिएको बताए। ‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भूराजनीतिक तनाव, बाढी–पहिरो र अहिले इरान–इजरायल द्वन्द्वले फेरि अर्थतन्त्र प्रभावित हुने देखिन्छ,’ खरेलले भने, ‘आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौती थपेको छ।’
उनका अनुसार भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि अर्थतन्त्र लयमा आउने बाटोमा थियो। बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिए पनि मध्यपूर्वको द्वन्द्वले फेरि चुनौती थपेको खरेलको भनाइ छ। यसले रेमिट्यान्स र बाह्य मुलुकमा नेपालीहरूको रोजगारीमा समेत असर पर्न सक्ने जोखिम रहेकाले यसलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनको धारणा छ।
कार्यक्रममा नाफिज अध्यक्ष मेनुका कार्कीले द्वन्द्वका कारण नेपालको रोजगारी र आम्दानीमा दीर्घकालीन असर पार्न सक्ने बताइन्। ‘द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य र अन्य उपभोग्य सामग्रीको आपूर्ति व्यवस्थालाई समेत ठुलो प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ,’ कार्कीले भनिन्, ‘नेपालको पेट्रोलियम पदार्थ पूर्ण रूपले भारतसँग निर्भर छ। भारतले पनि बाह्य देशबाटै कच्चा तेल आयात गर्दछ। यसकारण हाम्रो देशमा पनि त्यसको असर पर्न सक्छ।’