बाराका सबै मतदान केन्द्रमा पठाइयो निर्वाचन सामग्री

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाराका चारवटै निर्वाचन क्षेत्रमा मतपेटिकासहित सम्पूर्ण निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान केन्द्रहरूमा सुरक्षित रूपमा पठाइसकिएको छ। जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकृत नवीन चौधरीले निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ का सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याइएको जानकारी दिए।

चौधरीका अनुसार मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, मतदान अधिकृतका कागजात, सिलबन्दी सामग्री तथा सुरक्षासम्बन्धी उपकरणहरू निर्धारित प्रक्रियाअनुसार पठाइएको हो। सामग्री ढुवानीका क्रममा सुरक्षाकर्मीको विशेष निगरानी तथा समन्वय गरिएको थियो। दुर्गम तथा संवेदनशील मानिएका केही मतदान केन्द्रमा सामग्री समयमै पुर्याउन विशेष व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई एकदिने अभिमुखीकरण तथा तालिमसमेत प्रदान गरिएको छ। तालिममा मतदान प्रक्रिया, मतगणना, आचारसंहिता, विवाद व्यवस्थापन, सूचना प्रवाह र आपतकालीन अवस्थाको व्यवस्थापनलगायत विषय समेटिएको थियो। ‘निर्वाचनलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक तयारी पूरा गरिएको छ,’ चौधरीले भने।

निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा निरन्तर अनुगमन भइरहेको र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला प्रशासन कार्यालय बारासँगको समन्वयमा काम भइरहेको पनि उनले जानकारी दिए। आचारसंहिता उल्लंघनका उजुरी आएमा तत्काल छानबिन गरी आवश्यक कारबाही गरिने व्यवस्था मिलाइएको छ।

यसैबिच, निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि बाराका सीमानाका तीन दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै फागुन १८ राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका सम्पूर्ण नाका अस्थायी रूपमा बन्द रहने जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरिएको हो। प्रशासनले सर्वसाधारणलाई अनावश्यक हल्ला–अफवाहमा नलाग्न, आचारसंहिता पालना गर्न र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

सुझावित समाचार