यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि बागलुङका दुईवटै क्षेत्रका मतगणनास्थलमा तारजाली र सिसिक्यामरा तयार पारिएको छ । क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको सभाहलमा र क्षेत्र नम्बर २ को ढोरपाटन नगरपालिका– २, बुर्तिबाङ कुथाप्लोमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा मतगणनास्थल तयार पारिएको र सो क्षेत्रमा तारजाली र सिसिक्यामेरा जडान गरिएको छ । दुईवटै स्थानमै फलामे तारजाली लगाइएको छ भने ध्वनिसहित भिडियो रेकर्ड गर्ने सिसिक्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।
तारजाली लगाएपछि मतगणना कार्य सुरक्षित र पारदर्शी हुने हुँदा मतगणनास्थलमा तारजाली लगाउने, सुरक्षा पोस्ट र आवश्यक अन्य संरचना निर्माण गरिएको उनले बताइन् ।मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणनास्थललाई तारजाली, सिसिटिभी जडान गरिएको हो। तारजालीभित्र मत गणक कर्मचारी बस्ने र पारदर्शी तारजाली बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा हुन सक्ने समस्यालाई अन्त्य गर्दै दुईवटै स्थानमा भरपर्दो ढंगले मतगणना गर्न सक्ने गरी तयारी गरिएको हो ।
मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले फलामे तारजालीबाट मतगणना हेर्न मिल्ने व्यवस्था गरिएको छ अधिकारीले भनिन्, ‘मतगणना सुरु भएपछि गणनास्थलको सुरक्षा व्यवस्था कडा पारिनेछ, मानिसभन्दा अग्लो फलामे तारजाली राखिएको छ, तारबारभित्र गणक मात्रै बस्न सक्नेछन्, प्रतिनिधिले बाहिरबाट हेर्न हेर्नेछन्।
मतदान सम्पन्न भएपश्चात् दुईवटै क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएपछि सर्वदलीय बैठक बसी यसको गणना सुरु गरिने क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । रिजालका अनुसार सबै मतपेटिका जम्मा भएपश्चात् मात्र उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलको संयुक्त बैठकपश्चात् मात्र गणना सुरु गरिने रिजालले जानकारी दिए ।
बागलुङमा २३० स्थायी र दुईवटा अस्थायी गरी कुल २३२ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिलाई अस्थायी मतदान केन्द्रका रूपमा तोकिएको छ। निर्वाचनका लागि २३२ मतदान अधिकृत र २३२ सहायक मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्रमा पुगिसकेका छन्।