मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली श्रमिकको सुरक्षा चिन्ता, रोजगारी प्रभावित

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण
  • प्रमुख श्रम गन्तव्य मुलुक युएई, साउदी, कतारलगायतका मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबिचको युद्धले श्रमिकको नयाँ श्रम स्वीकृति रोकियो, रेमिट्यान्स आप्रवाहसमेत घट्न सक्ने

अमेरिका–इजरायल र इरानबिचको युद्धले मध्यपूर्वमा तनाव हुँदा नेपालको वैदेशिक रोजगारमा रहेका १७ लाख भन्दा बढी नेपाली श्रमिकको सुरक्षा चिन्ता बढेको छ । श्रम स्वीकृति रोकिएसँगै रोजगारी पनि प्रत्यक्ष प्रभावित भएको छ । मध्यपूर्वको १६ मध्ये युएई, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन र इजरायल नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य मुलुक हुन् । यिनै मुलुकहरू युद्धको चपेटामा रहेकाले त्यहाँ काम गरिरहेका नेपाली श्रमिक नै सुरक्षाको जोखिममा छन् भने नयाँ कामदारको श्रम स्वीकृति पनि रोकिएको छ ।

वैदेशिक रोजार विभागले १६ मध्ये १२ देश साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा हुने श्रम स्वीकृति रोक्ने निर्णय छ । परिस्थिति सामान्य नहुन्जेलसम्मका लागि श्रम स्वीकृति स्थगन गर्ने निर्णय लिएको विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए । ‘मध्यपूर्वको तनाव कम नहुन्जेल नयाँ श्रम स्वीकृति जारी नगर्ने निर्णय भएको छ, अहिले आवेदन पनि परेको छैन,’ उनले भने ।

मध्यपूर्व वैदेशिक रोजगारका लागि सबैभन्दा बढी नेपाली जाने क्षेत्र हो । विभागका अनुसार तीन वर्षयता मात्रै १६ मध्ये १५ देशमा १७ लाख २५ हजार दुई सय ७३ जनाले श्रम स्वीकृति लिएर गएका छन् । सिरियामा कसैले पनि श्रम स्वीकृति लिएर गएका छैनन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले मध्यपूर्वमा वेला–वेला तनाव हुँदा नेपाली कामदार प्रभावित भएको बताए । यसपटकको तनाव चाँडै समाधान भएर नेपाली कामदारले पनि सुरक्षित महसुस गर्ने वातावरण सिर्जना हुने अपेक्षा राखेको उनले बताए । ‘नेपाली कामदार सुरक्षित बसोवास क्षेत्रमै हुन्छन्, त्यसैले ठुलो समस्या नहोला भन्ने अपेक्षा छ,’ उनले भने । मध्यपूर्वका देशहरू प्रमुख श्रम गन्तव्यमा पर्ने भएकाले चाँडो निकासा खोज्न सरकारले पनि पहलकदमी लिनुपर्ने उनको सुझाव छ । 

मध्यपूर्वमा गएका कामदारको रेमिट्यान्समा उच्च योगदान भइरहेको विषयलाई ध्यान दिएर सरकारले कामदारमैत्री निर्णय लिनुपर्ने उनको सुझाव छ । दैनिक १५ सय नेपाली वैदेशिक रोजगारमा जाने गरेकोमा करिब एक हजार मध्यपूर्वका देशमा नै जाने गरेको उनको भनाइ छ । ‘मध्यपूर्वका देशमा जाने खर्च पनि मितव्ययी छ । आम्दानी पनि अपेक्षाकृत नै भएकाले नेपाली कामदारको रोजाइमा पर्दै आएको हो,’ उनले भने, ‘मध्यपूर्वका रोजगारदाताले पनि नेपाली श्रमिकलाई रुचाइरहेका छन् ।’

संघका महासचिव महेशकुमार बस्नेतले बाह्य रोजगारीका लागि मध्यपूर्व सबैभन्दा बलियो आधार रहेको बताए । ‘नेपाली श्रमिक र रोजगारदाताले समेत रुचाएका कारण मध्यपूर्व वैदेशिक रोजगारीका लागि सबैभन्दा राम्रो ठाउँ हो,’ उनले भने, ‘त्यसैले, मध्यपूर्वको रोजगारी सुरक्षित राख्न सबै क्षेत्रबाट पहल हुनुपर्छ ।’

युएईमा मृत्यु हुने नेपाली युवाको पहिचान

संयुक्त अरब इमिरेट्स (युएई)मा मृत्यु हुने नेपाली युवाको पहिचान भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार आवुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा मिडल इस्ट कम्पनीको सेक्युरिटी गार्डमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको निधन भएको हो । दूतावासले परिस्थिति सहज भएपछि श्रेष्ठको शव नेपाल पठाउने प्रक्रिया अघि बढाउने पनि जनाएको छ । दूतावासले नेपाली नागरिकलाई सयंमता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रहसमेत गरेको छ । त्यस्तै, युएई सरकारले जारी गरेको सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरेको छ ।

रेमिट्यान्समा सबैभन्दा धेरै योगदान
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको एक अध्ययनले आन्तरिक (देशभित्रकै एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने)सहित सबैभन्दा धेरै मध्यपूर्वका देशबाट रेमिट्यान्समा योगदान भइरहेको देखाएको छ । कार्यालयको अध्ययनअनुसार नेपालमा भित्रिने रेमिट्यान्समध्ये मध्यपूर्वका कतारबाट १० प्रतिशत, साउदी अरेबियाबाट ९.१ प्रतिशत र युएईबाट ७.१ प्रतिशत योगदान रहेको छ । तीनवटै देश प्रमुख श्रम गन्तव्य मुलुक हुन् । त्यसैले यहाँको रोजगारीमा असर पर्दा रेमिट्यान्स आप्रवाहमा पनि प्रभाव पर्नेतर्फ ध्यान दिनुपर्ने वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव महेशकुमार बस्नेतले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ भन्छन्– 

मध्यपूर्वमा वेला–वेला तनाव हुँदा नेपाली कामदार प्रभावित भएका छन् । नेपाली कामदार सुरक्षित बसोवास क्षेत्रमै हुन्छन्, त्यसैले ठुलो समस्या नहोला भन्ने अपेक्षा छ । मध्यपूर्वका देशहरू प्रमुख श्रम गन्तव्यमा पर्ने भएकाले चाँडो निकासा खोज्न सरकारले पनि पहलकदमी लिनुपर्छ ।

मध्यपूर्वमा गएका कामदारको रेमिट्यान्समा उच्च योगदान भइरहेको विषयलाई ध्यान दिएर सरकारले कामदारमैत्री निर्णय लिनुपर्छ । दैनिक १५ सय नेपाली वैदेशिक रोजगारमा जाने गरेकोमा करिब एक हजार मध्यपूर्वका देशमा नै जाने गर्छन् । मध्यपूर्वका देशमा जाने खर्च पनि मितव्ययी छ । आम्दानी पनि अपेक्षाकृत नै भएकाले नेपाली कामदारको रोजाइमा पर्दै आएको हो ।

सुझावित समाचार