नेपाली धावकले पूरा गरे टोकियो म्याराथन

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

जापानको टोकियो सहरमा हरेक वर्ष १ मार्चमा विश्व चर्चित टोकियो म्याराथन दौड आयोजना हुन्छ । विश्वकै अति विकसित सहरले आयोजना गर्ने म्याराथनमध्ये टोकियो पनि एक हो । यो म्याराथन अन्य सहरको भन्दा कठिन मानिन्छ । टोकियो म्याराथन दौडमा सहभागी हुनु पनि धावकहरूले ठुलो उपलब्धिका रूपमा लिने गर्छन् । यस्तोमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली धावकले टोकियो म्याराथन दौड सफलतापूर्वक पूरा गरेका छन् । 

नेपालबाट अनिललाल श्रेष्ठ र डोन्जोङ तेन्जिङले म्याराथनमा प्रतिस्पर्धा गरेका हुन् । उनीहरूले दौड पूरा गर्न विभिन्न चरण पार गरे । तेन्जिङले दौड पूरा गर्न तीन घण्टा ४० मिनेट २३ सेकेन्ड समय लगाएका थिए । तेन्जिङको तुलनामा श्रेष्ठ पछाडि रहे पनि दौड पूरा गर्न सफल भए । उनको समय ६ घण्टा २८ मिनेट ४८ सेकेन्ड रहेको थियो । प्रतियोगितामा विभिन्न राष्ट्रबाट आएका नेपाली एनआरएन धावकहरूले पनि प्रतिस्पर्धा गरेका थिए । 

‘टोकियो म्याराथनमा प्रवेश पाउन नै ठुलो उपलब्धि हो,’ टोकियोबाट श्रेष्ठले भने, ‘अझ म्याराथनमा नेपालबाट तेन्जिङ र मैले मात्र इन्ट्री पाएका थियौँ, हुन पनि नेपालबाट अन्य धावकहरूले पनि सहभागिताका लागि निवेदन राखेका थिए, तर हामी दुईजना मात्र भाग्यमानी भयौँ ।’ टोकियो म्याराथन फरक रहेको श्रेष्ठको बुझाइ छ । ‘यसअघि मैले स्विट्जरल्यान्ड र जर्मनीमा भएको म्याराथनमा सहभागिता जनाएको थिएँ, तर टोकियो अलि फरक लाग्यो,’ उनले भने । 

टोकियो म्याराथनमा सहभागीहरूले विभिन्न जोनमा आयोजकले दिइएको समयभित्र पार गर्नुपर्ने नियम राखेको थियो । त्यस समयभित्र दौड पूरा गर्न नसक्दा सिधै धावक दौडबाट बाहिरिने नियम बनाइएको थियो । ‘अन्य दौडमा फिनिसिङ लाइनसम्म खासै समस्या भाग्नुपरेको थिएन, तर टोकियो म्याराथानमा धावकहरूले विभिन्न चरणमा आयोजकले राखेको समयभित्र पार गर्नुपर्ने थियो,’ श्रेष्ठले भने, ‘समयभित्र दौड पूरा नगर्दा धावक बाहिरिन्थ्यो । यसले पनि अलि गाह्रो भयो ।’

टोकियो म्याराथनमा नेपाली एनआरएनमध्ये मोहन कार्की पहिलो भएका छन् । उनले दौड ३ घन्टा ११ मिनेट ४४ सेकेन्डमा पूरा गरेका थिए । यसैगरी, दोस्रो स्थानमा पाण्डव महातो भए । उनको टाइमिङ ३ घन्टा १४ मिनेट १७ सेकेन्ड रह्यो । अशोक चपागाई तेस्रो भए । उनले ३ घन्टा २९ मिनेट ४२ सेकेन्डमा दौड सकाएका थिए । चौथो स्थानमा रहेका हरि गुरुङले ३ घन्टा ३७ मिनेट १९ सेकेन्डमा म्याराथन कोर्स सकाएको आयोजकले जनाएको छ ।

पाँचौँ स्थानमा तेन्जिङ दोन्जोङ रहेका छन् । उनले दौड पूरा गर्न ३ घन्टा ४० मिनेट, २३ सेकेन्ड लगाएका थिए । छैटो स्थानमा सुजन भट्ट रहे । उनको टाइमिङ ४ घन्टा ४७ सेकेन्ड थियो । अमृत श्रेष्ठ ४ घन्टा ३ मिनेट १ सेकेन्डका साथ सातौँ स्थानमा रहेका छन् । यसैगरी, एनआरएन मध्ये सूर्य गुरुङ ४ घन्टा २९ मिनेट ४ सेकेन्डका साथ आठौँ र इन्द्र चापागाई ४ घन्टा ४० मिनेट ३० सेकेन्ड साथ नवौँ स्थानमा रहेका छन् । नेपाली मध्ये भीम गुरुङ दशौँ र विष्मा पाण्डे ११औँ स्थानमा रहे । यसैबिच, अशोक कुमार चापागाई र पाण्डव महातोले टोकियो म्याराथनमा ६ स्टार मेडल पाएका छन् ।

इथोपियाका ट्राडेसले जिते उपाधि
टोकियो म्याराथनमा विश्व प्रसिद्ध धावकहरूको सहभागिता रहेको थियो । दौडमा ३८ हजार सात सय ७३ जना धावकहरूले भाग लिएका थिए । यसपटकको संस्करणलाई विश्व एथलेटिक्स प्लाटिनम लबेल रोड रेस मान्यता दिइएको थियो । टोकियो म्याराथनको उपाधि इथियोपियाका ट्राडेसले उपाधि रक्षा गरे । २३ वर्षीय ट्राडेसले दुई घण्टा तीन मिनेट ३७ सेकेन्डमा दौड पूरा गरे । दोस्रो स्थानमा केन्याका धावक जियोफेय टोरोटिक रहे । उनी दुई घण्टा तीन मिनेट ३७ सेकेन्डका साथ दोस्रो भएका हुन् । उनी स्पिन्ट क्रसका आधारमा दोस्रो भएका हुन् । प्रतियोगिताको महिलातर्फ केन्याकी ब्रिगिड कोसके पहिलो भइन् । उनले महिला कोर्स रेसको टाइमिङ भंग गर्न सफल भइन् । 

See More On

सुझावित समाचार