आउँदो बिहीबार सम्पन्न हुन गैरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका निम्ति निर्वाचन सामग्रीसहित कर्मचारीहरू मतदानस्थलमा पुगेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री लिएर सोमबारदेखि नै मतदान अधिकृत र कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान केन्द्र पुगेका छन्।
निर्वाचनका लागि प्रयोग हुने सबै सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा २३० स्थायी र २ अस्थायी गरी २ सय ३२ मतदान केन्द्र रहेका छन । ती मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत अन्य कर्मचारी र सुरक्षाकर्मीले आफ्नो नियुत्तिसहित निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार डाढाका मतदान केन्द्रमा कर्मचारी र समग्री पुगिसकेको र नजिकका भने मतदान अधिकृतले बुझे पनि भोलि मात्र लाने बताए।
‘निर्वाचनको लागि आवश्यक सुरक्षा बन्दोबस्तसमेत गरेर मतदान केन्द्रमा सामग्री पठाइएको छ,’ उनले भने, ‘निर्वाचन सुरक्षाको टोली पनि केन्द्र पुगिसकेको छ।’ मतदान अधिकृतहरूसँग मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको ह्वाट्स एप समूह बनाएर नियमित जानकारी लिने व्यवस्थापनसमेत गरिएको उनले जानकारी दिए।
कतिपय मतदान केन्द्रमा भने निर्वाचनका सामग्री र मतपत्र मंगलबार मात्रै पुग्नेछन् । मतदान अधिकृतहरूले केन्द्रमा पुगेर वरपर मदिरालगायतको बिक्री-बितरणमा रोक लगाउने सूचना प्रकाशित गरिसकेका छन् । त्यस्तै, राजनीतिक दलको प्रचार सामग्री भए हटाउनेजस्ता काममा समन्वय पनि सुरु भैसकेको शर्माले बताए। सोमबार राति १२ बजेबाट निर्वाचनका लागि मौन अवधि सुरु भई फागुन २१ गते मतदान हुनेछ।
बागलुङमा ३५ वटा संवेदनशील मतदान केन्द्र छन् । ती केन्द्रमा सुरक्षा व्यवस्थापन मजबुत बनाइएको छ भने अन्यमा पनि आवश्यक सुरक्षाकर्मी खटिइसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । योपटक जिल्लामा कुनै पनि घटना नभएको उनले जानकारी दिए । आचारसंहिता पालना, प्रचार प्रसारमा सौहार्दता र दलहरूबिचसमेत सम्मानजनक व्यवहार भएको उनले बताए।
गण्डकी प्रदेश प्रेस रजिस्टार बिमला भण्डारीले पनि पत्रकार महासंघ र मुख्य निर्वाचन अधिकृतसँग छलफल गरेर आचारसंहितामा पत्रकारहरूको साथ र सहयोगबारे जानकारी लिइन् । उनले पत्रकारबाट सत्यतथ्य समाचार संकलनमा निर्वाचनलाई सहयोग पुग्ने, आवतजावत र समाचार संकलनमा निर्वाचनले सहयोग गर्ने गरी समन्वय गरिएको भण्डारीले बताइन्।