फागुपूर्णिमा हाेलीकाे रंग खेल्दै उम्मेदवारले आज बेलुकाबाट घरदैलो अभियान समापन गर्दै छन् । सबै दलका उम्मेदवारले चुनावी क्षेत्रकाे सबै गाउँबस्ती घुमिसकेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी र एमाले हाबी भएको अनुमान गरिएको छ । आइतबार दुवै पार्टीले बाह्रबिसेदेखि सुकुटेसम्म गरेकाे घरदैलो अभियान र शक्ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता थियाे ।
नेकपाका माधव सापकोटा सुबाेध र एमालेका सरेश नेपालले सभालाई सम्बाेधन गरेर जित्ने दाबी प्रस्तुत गरेका थिए । पछिल्लो केही दिनयता एमाले र कांग्रेसबाट ठुलाे संख्यामा नेकपा प्रवेश गरेका छन् । ३३ महिना संसदमा प्रभावकारी भूमिका खेलेका सापकोटा जित दाेहाेर्याउने दाउमा छन् ।
नेपाल भने जसरी पनि बदला लिने रणनीतिमा लागेको देखिन्छ । यद्यपि, एमालेका थुप्रै नेता–कार्यकर्ता नेकपा र रास्वपामा प्रवेश गरेका छन् । रास्वपा उम्मेदवार भरतप्रसाद पराजुली एमाले नेता हुन् । टिकट नपाउने भएपछि एमाले छाेडेर रास्वपा प्रवेश गरेका थिए। हाइड्रोपावर व्यवसायी पराजुलीले राष्ट्रिय राजनीतिकाे माहाेललाई समातेका छन् । घरदैलो अभियानको क्रममा कांग्रेस र एमालेका धेरै कार्यकर्ता रास्वपा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका सदावहार नेतृत्व माेहनबहादुर बस्नेतले टिकट नपाएपछि उम्मेदवार जंगबहादुर लामा फिका देखिएका छन् । लामा बस्नेतलाई फकाएर कांग्रेसकाे मत सुरक्षा गर्दै जित निकाल्ने ध्याउन्नमा छन् । समग्र परिस्थिति हेर्दा क्षेत्र नम्बर १ मा नेकपा र एमालेबिच मुख्य प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ ।
नेकपा र एमालेलाई जुधाएर गाेल हान्ने याेजनामा कांग्रेस लागेकाे छ । तीनवटा पुराना पार्टीको मत चाेरेर जित्ने दाउमा रास्वपा देखिन्छ । चाैतारा साँगाचाेकगढी नगरपालिका, जुगल, बलेफी र लिसंखुपाखर गाउँपालिकामा सापकोटा अगाडि छन् । भाेटेकाेशी, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकामा एमाले अगाडि रहेकाे छ ।
बाह्रबिसेमा कांग्रेस बलियो छ । ५४ वडामध्ये कम्तीमा पाँच वडामा रास्वपाकाे पकड छ । पार्टीको शीर्ष नेता ल्याएर मतदाता तान्ने पराजुलीको याेजना सफल हुन सकेन । बालेन सिन्धुपाल्चोक आए पनि खासै प्रभाव रहेन । पार्टी सभापति रवि लामिछाने ल्याउने याेजना पनि सफल भएन ।
यता क्षेत्र नम्बर २ मा कांग्रेस, नेकपा र एमालेबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । रास्वपा र राप्रपा धेरै पछाडि रहेकाे पाइन्छ । यस क्षेत्रमा एमालेकाे संगठन बलियाे छ । तर, दुईपटक मन्त्री बनिसकेका शेरबहादुर तामाङले विकास निर्माणमा सिन्काे नभाँचेकाे भन्दै एमालेप्रति मतदाता सन्तुष्ट छैनन् । याे क्षेत्रमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबिच गठबन्धन भएर ०७९ मा माेहनबहादुर बस्नेत निर्वाचित भएका थिए ।
कांग्रेस उम्मेदवार वंशलाल तामाङलाई उक्त साख जाेगाउने जिम्मेवारी छ । तर, नेकपाकाे उम्मेदवार युवराज दुलाल मतदातामाझ लाेकप्रिय छन् । बागमती प्रदेशमा दुईपटक मन्त्री हुँदा देखिने गरी विकासकाे पहल गरेकाेले दुलाललाई मतदाता विकासप्रेमी उम्मेदवार भन्छन् । चाैतारा साँगाचाेकगढीमा दुलाल धेरै बलियो छन् ।
इन्द्रावती गाउँपालिकामा वंशलाल तामाङ बलियाे देखिन्छन् । यहाँ तामाङलाई दुलालले पछ्याउने अनुमान गरिएको छ। मेलम्चीमा एमाले अगाडि छ । कांग्रेस र नेकपा पछिपछि छन् । हेलम्बु गाउँपालिकामा कांग्रेस अगाडि देखिन्छ । यहाँ पनि दुलाल ले पछ्याउनेछन् ।
पाँचपाेखरी थांपाल गाउँपालिकामा तीनवटै उम्मेदवार आमनेसामने छन् । एमाले अगाडि देखिए पनि नेकपा उम्मेदवार दुलालसँग धेरै मतकाे फरक नपर्ने बताइएकाे छ । यहाँ कांग्रेस केही पछि छ । रास्वपाका झलककुमार श्रेष्ठ र राप्रपाका गाेपीकृष्ण चाैलागाईं पनि ठुला पार्टीको पछिपछि छन् । क्षेत्र नम्बर १ मा १७ र २ मा १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । १ मा एक लाख ३६ हजार ९८५ र २ मा एक लाख ३८ हजार १३ मतदाता छन् ।