मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– २, अँगारे र टाखेलमा गएराति छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट करिब सात लाख रुपैयाँबराबरको क्षति भएको छ । मकवानपुर प्रहरीका अनुसार एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अर्को घरमा आंशिक रूपमा क्षति पुगेको छ।
प्रहरीका अनुसार वडा नम्बर २ को अँगारेमा गुप्त कार्कीको नयाँ घरसँगै रहेको जस्तापाताले छाएको पुरानो कच्ची घरमा पूजा गर्ने क्रममा बालिएको दियोबाट आगो सल्किएको थियो । आगो तीव्र रूपमा फैलिँदा घरका काठ, अन्नपात र महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमानअनुसार करिब पाँच लाख रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
आगलागीका क्रममा गुप्त कार्कीकी श्रीमती ६१ वर्षीया सान्नानी कार्की धुवाँका कारण निस्सासिएर घाइते भएकी छिन् । उनको उपचार पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको प्रहरीले जानकारी दिएको छ । स्वास्थ्यकर्मीका अनुसार उनको अवस्था सामान्य छ ।
दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा करिब दुई घन्टापछि आगो निभाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङकी प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको कमान्डमा १५ जनाको टोली खटिएको थियो ।
यस्तै, थाहाकै वडा नम्बर २ को टाखेलमा चन्द्रबहादुर देउलाको नयाँ घरबाट करिब पाँच सय मिटर उत्तरतर्फ रहेको ढुंगा–माटोले बनेको तथा जस्तापाताले छाइएको मानिस नबस्ने पुरानो कच्ची घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । उक्त घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । सो आगलागीबाट करिब दुई लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको कमान्डमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको नेतृत्वमा १० जनाको नगर प्रहरी टोली खटिएको थियो । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो पूर्ण रूपमा निभाइएको प्रहरीले जनाएको छ।