आयल निगमको व्यवस्थापकीय अक्षमताले डेढ महिनादेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन सकेको छैन । ग्यास आपूर्ति सहज नबनेकै अवस्थामा आइतबारदेखि पेट्रोलपम्पमा समेत उपभोक्ताको लाइन बाक्लिएको छ ।आइतबार दिउँसोदेखि रातिसम्म उपत्यकाका अधिकांश पेट्रोलपम्पमा उपभोक्ताले लामो लाइन कुरेर मात्र सवारीसाधनमा इन्धन भर्न पाएका छन् । निगमले भने सोमबारदेखि निर्वाचनसम्म पर्ने लगातारको बिदाका कारण उपभोक्ताले पेट्रोल–डिजेल सञ्चय गर्न खोज्दा पम्पमा लाइन बाक्लिएको तर्क गरेको छ ।
निगम प्रवक्ता मनोज ठाकुरले नियमित परिमाणमा इन्धन बिक्री गरिरहेका र सार्वजनिक बिदाका दिन पनि कार्यालय खोलेर सेवा दिने जानकारी प्रवाह गर्दासमेत उपभोक्ता अतालिनु ठिक नभएको बताए । ‘मागेजति इन्धन वितरण गर्ने क्षमता छ र सार्वजनिक बिदामा पनि कार्यालय खोलेर तेल वितरण गर्छौँ भनिरहँदा पनि उपभोक्ताहरू अतालिएर पेट्रोलपम्पमा लाइन बस्नु राम्रो होइन,’ उनले भने, ‘उपभोक्ताले जति माग गर्छन्, त्यति नै तेल दिन सक्ने क्षमता छ ।’
उपभोक्तालाई भने निगमको ‘स्टेटमेन्ट’सँग भरोसा छैन । आइतबार साँझ भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ आयलमा इन्धन भर्न लाइनमा भेटिएका समीर थापाले लगातार परेको बिदाका कारण बजारमा अभाव हुन सक्ने डर रहेको बताए । ‘आयल निगमले ग्यास अभाव हुँदैन भन्थ्यो, तर अहिलेसम्म बजारमा सहज रूपमा ग्यास पाइँदैन । त्यसैले तेलको मूल्यसमेत बढ्ने अवस्था देखेपछि लाइनमै बसेर भए पनि पेट्रोल हाल्छु भनेर आएको हो,’ उनले भने । निगमले भने आइतबार काठमाडौंमा पेट्रोल १६ लाख ५० हजार लिटर र डिजेल १२ लाख नौ हजार लिटर बिक्री–वितरण गरेको जनाएको छ । जुन सामान्य अवस्थाको तुलनामा झन्डै दोब्बर हो ।
यद्यपि, आइतबार अन्य दिनको तुलनामा धेरै इन्धन बिक्री हुने गर्छ । किनभने शनिबार बिदा भएकाले निगमले इन्धन वितरण रोक्ने गरेको छ । पेट्रोलपम्पमा लाइन बढेपछि निगमले सोमबार बिदाका दिन पनि कार्यालय खोलेर इन्धन वितरण गर्ने निर्णय गरेको प्रवक्ता ठाकुरले जानकारी दिए । ‘सोमबार बिदामा इन्धन वितरण नगर्ने योजनामा थियौँ, तर आइतबार साँझसम्म पम्पमा उपभोक्ताको लाइन देखिएकाले सोमबार बिदा भए पनि कार्यालय खोलेर इन्धन वितरण हुन्छ,’ उनले भने । निर्वाचनमा हुने बिदाको समयमा समेत कार्यालय खोलेर इन्धन वितरण गर्ने भएकाले अनावश्यक सञ्चय नगर्न पनि उनले अनुरोध गरे ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि मागेजति तेल पाइरहेका कारण उपभोक्ता अतालिन नहुने बताए । ‘आयल निगमबाट मागेजति तेल आइरहेको छ । त्यसैले उपभोक्ताहरू तेलको मूल्य बढ्ने वा बिदाका कारण अभाव हुनेजस्ता आशंका राखेर अनावश्यक सञ्चयका लागि पम्पमा तेल भर्न आउनुपर्दैन,’ उनले भने ।
मनोज ठाकुर
प्रवक्ता, आयल निगम
मागेजति इन्धन वितरण गर्ने क्षमता छ र सार्वजनिक बिदामा पनि कार्यालय खोलेर तेल वितरण गर्छौँ भनिरहँदा पनि उपभोक्ता अतालिएर पेट्रोलपम्पमा लाइन बस्नु राम्रो होइन । उपभोक्ताले जति माग गर्छन्, त्यति नै तेल दिन सक्ने क्षमता छ । निर्वाचनमा हुने बिदाको समयमा समेत कार्यालय खोलेर इन्धन वितरण गर्ने भएकाले अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई अनुरोध गरेका छौँ ।
लिलेन्द्र प्रधान, अध्यक्ष, पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन
मागेजति तेल पाइरहेका कारण उपभोक्ता अतालिन आवश्यक छैन । आयल निगमबाट मागेजति तेल आइरहेको छ । त्यसैले उपभोक्ताहरू तेलको मूल्य बढ्ने वा बिदाका कारण अभाव हुनेजस्ता आशंका राखेर अनावश्यक सञ्चयका लागि पम्पमा तेल भर्न आउनुपर्दैन ।
माधव तिमिल्सिना
उपभोक्ता अधिकारकर्मी
आयल निगमको व्यवस्थापकीय लापरबाहीले खाना पकाउने एलपी ग्यासको चरम अभाव कायम नै छ । उपभोक्ता खाली सिलिन्डर काँधमा बाकेर भौँतारिरहनुपरेको छ । अहिले फेरि पेट्रोलपम्पमा लाइन लाग्नुपर्ने बाध्यता आइलागेको छ । यो भनेको निगमको लाचारीपन हो । अत्यावश्यक वस्तुको आपूर्तिमा निगमले खेलबाड गरिरहेको छ । निगमका उच्च अधिकारीहरू उपभोक्ताहितप्रति संवेदनशील नभएको यसले देखाउँछ । कागजी तथ्यांकमा ग्यास र तेल यति आयो, उति आयो भनेर हुँदैन । बजारमा माग भएजति दिन सक्नुपर्छ ।