२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले सुरक्षा गस्ती बढाएको छ ।
मतदानको पाँच दिनअघि आइतबार धनुषासँग सीमा जोडिएको कमला पुलबाट सेनाको आधुनिक बख्तरबन्द गाडीहरू पर्व–पश्चिम लोकमार्ग, जिल्ला सदरमुकाम सिराहा पुगेर हुलाकी सडक हुँदै सप्तरीतर्फ गएको छ । पूर्व–पश्चिम लोकमार्ग र हुलाकी सडक क्षेत्रमा सेनाको उपस्थिति र विशेष गस्तीले निर्वाचनका वेला हुन सक्ने अवाञ्छित क्रियाकलाप नियन्त्रण र आमनागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने विश्वास गरिएको छ ।
निर्वाचनको सन्दर्भमा आचारसंहिताको पूर्ण पालना गर्दै सर्वसाधारणको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न प्रतिबद्ध रहेको नेपाली सेनाले जनाएको छ । त्यसअघि शनिबार सेनाको चोहर्वास्थित नन्दाबक्स गणको कमान्डमा सघन सुरक्षा गस्ती र विशेष अभ्यास गरिएको थियो । त्यसक्रममा जिल्लाका चारवटै सुरक्षा क्षेत्रस्थित निर्वाचन स्थल र संवेदनशील केन्द्रहरूलाई लक्षित गरी नेपाली सेना, स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत सहभागितामा अभ्याससहित जिल्लाका १७ वटै स्थानीय तहलाई समेटिने गरी एकैपटक ५७ वटा बृहत् संयुक्त अभ्यास ‘पेट्रोल’ गस्ती गरिएको थियो ।
६ हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चारवटा क्षेत्र कायम गरिएको सिराहामा साना–ठुला दलका ५४ र ८४ जना स्वतन्त्र गरी १३८ जना उम्मेदवार छन् । सिराहाका चारवटा निर्वाचन क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई अन्य गरी चार लाख ५३ हजार ६४५ मतदाता, २२३ मतदानस्थल र ५३१ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि जिल्लाको चारवटै क्षेत्रमा एक हजार चार सय नेपाल प्रहरी, ६ सय नेपाली सेना, सात सय सशस्त्र प्रहरी र तीन हजार आठ सय निर्वाचन प्रहरीसहित हरेक पालिकामा दुई–दुईजनाको दरले राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ ।