\'चेला वर्षमान\'लाई भोट माग्न \'गुरु महरा\' घरदैलोमा

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पार्टीका उम्मेदवार वर्षमान पुन 'अनन्त’का लागि मत माग्दै घरदैलोमा पुगिरहेका छन्। आइतबार रोल्पा नगरपालिका वडा नं. १ र २ मा मतदाता भेटघाटका लागि पुनसँगै पुगेर कुनै वेलाका आफ्ना चेलाका पक्षमा मत मागेका हुन्।

जनभेटघाटमा बोल्दै नेता महराले वर्षमान पुनलाई आफ्नो उत्पादन र नेपाली राजनीतिको एक कुशल व्यवस्थापकको रूपमा चित्रण गरे। महराले भने, 'जसरी मैले उहाँलाई राजनीतिक यात्राको बाटो सिकाएँ, आज सोही चेलाले देशको नेतृत्व गरिरहँदा मलाई गर्व लाग्छ।'

रोल्पा नगरपालिकाका विभिन्न स्थानमा पुग्दा मतदाताहरूमा उत्साह देखिएको छ। विशेष गरी आमा समूह, बुद्धिजीवी र स्थानीय युवाहरूको ठुलो उपस्थितिमा भएको सो कार्यक्रममा महराले रोल्पाका दुर्गम कुनाकाप्चासम्म सडक पुर्याउन, बिजुली र खानेपानीको व्यवस्था गर्न पुनले अतुलनीय भूमिका निर्वाह गरेको बताए।

महराले अगाडि थपे, 'वर्षमान पुन अन्य नेताभन्दा फरक, सरल र सहज स्वभावका हुनुहुन्छ। उहाँसँग जनताको पीडा बुझ्ने र त्यसलाई समाधान गर्ने अदम्य साहस छ। त्यसैले, यसपटक रोल्पाको भाग्य र भविष्यका लागि फेरि पनि पुनलाई मतदान गर्न म अपिल गर्दछु।'

घरदैलोका क्रममा वर्षमान पुन ‘अनन्त’ले पनि आफ्ना गुरुको विश्वासलाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता जनाए । उनले आफ्ना योजनाहरू सुनाउँदै गर्दा स्थानीय मतदाताले विकासका बाँकी कामहरू पूरा गर्न पुनको नेतृत्व आवश्यक रहेको बताएका थिए। पुनले अबको रोल्पा कृषि, पर्यटन र पूर्वाधार विकासमा नमुना बन्ने बताए।

गुरु महरा र चेला पुनलाई सँगै घरदैलोमा देखेपछि मतदाताहरू थप उत्साहित बनेका छन् । शनिबार लिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता कृष्णबहादुर महराले पुनलाई भोट मागेका थिए।

सुझावित समाचार