निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर होली मनाउन मकवानपुरका प्रजिअ अधिकारीको आग्रह

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आगामी निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस वर्षको फागु पूर्णिमा (होली) संयमित र अनुशासित रूपमा मनाउन आग्रह गरेका छन् । 

निर्वाचनको पूर्वसन्ध्या र मौन अवधिसँगै परेको होलीलाई लक्षित गर्दै प्रशासनले मदिरा बिक्री–वितरण र सेवनसँगै डिजे पूर्ण रूपमा प्रतिबन्ध लगाएको उनले जानकारी दिए । ‘अहिलेका लागि हाम्रो मुख्य उत्सव भनेकै निर्वाचन हो,’ प्रजिअ अधिकारीले भने, ‘पहिले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरौँ, रमाइलो त त्यसपछि पनि गर्न सकिन्छ ।’

उनका अनुसार निर्वाचन आयोग र गृह मन्त्रालयको निर्देशन पालना गर्दै जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण, सेवन र ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ । ‘मदिराका कारण झगडा र दुर्घटना बढ्ने भएकाले आजैबाट प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

प्रजिअ अधिकारीले सार्वजनिक स्थानमा ठुलो आवाजमा डिजे बजाउने, पानीका फोहोरा फाल्ने तथा ठुलो समूहमा जम्मा भएर होहल्ला गर्ने गतिविधि निषेध गरिएको स्पष्ट पारे । गत वर्षहरूमा हेटौँडाका विभिन्न चोकमा देखिने भिडभाड यसपटक पूर्ण रूपमा नियन्त्रण गरिने उनको भनाइ छ।

होली मनाउने क्रममा कुनै पनि राजनीतिक दलको चुनाव चिह्न अंकित टिसर्ट, टोपी वा झन्डा प्रयोग नगर्न पनि उनले सचेत गराए । ‘निर्वाचन आचारसंहिताले राजनीतिक संकेतयुक्त सामग्री प्रयोग गर्न निषेध गरेको छ। उल्लंघन गरे कानुनी कारबाही हुन्छ,’ उनले चेतावनी दिए ।

सवारीसाधन प्रयोगमा पनि कडाइ गरिने जनाउँदै उनले विशेष गरी मोटरसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिमा हुइँक्याउनेहरूलाई कारबाही गरिने बताए। ‘उच्छृंखल गतिविधि गर्ने र प्रशासनको आग्रहलाई अवज्ञा गर्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइनेछ,’ उनले भने, ‘यस वर्षको होली सकेसम्म आफ्नै घरको कम्पाउन्डभित्र परिवारसँग सीमित रूपमा मनाउन म सबैमा अनुरोध गर्छु।’
 

सुझावित समाचार