काठमाडौंको चाबहिलबाट दुई व्यक्ति पेस्तोल र लागुऔषधसहित पक्राउ परेका छन्। तनहुँको बन्दीपुर- ७ घर भई काठमाडौंको टोखा बस्ने ७० वर्षीय दिलबहादुर गुरुङ र तनहुँको बन्दीपुर- ४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ५३ वर्षीय टकबहादुर गुरुङलाई लागुऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार पक्राउ गरेको हो।
उनीहरूसँग नौ एमएमको पेस्तोल र ३०१ ग्राम एम्फेटामाइन(आइसड्रग)सहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनीहरूमध्ये दिलबहादुर विगतमा पनि जेल परेर छुटेका व्यक्ति हुन्।
२०७२ सालमा चरेससहित पक्राउ परेका उनलाई चार वर्ष कैद र ८० हजार जरिवाना भएको थियो। जेलबाट छुटेपछि पुनः उनी यस्तै अपराधमा लागेका हुन्।