फागुपूर्णिमा पर्व मनाउँदा विशेष सतर्कता अपनाउन बारा प्रशासनको आग्रह

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले यस वर्षको फागुपूर्णिमा (होली पर्व)लाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासीलाई अपिल गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न आग्रह गर्दै यसपटकको होलीमा विशेष कडाइ गरिएको उल्लेख गरिएको छ।

निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दलको चुनाव चिह्न, उम्मेदवारको तस्बिर वा प्रचार सामग्रीअंकित टिसर्ट तथा लोगो प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

प्रशासनले होली मनाउने बहानामा हुने उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न कडा कदम चालिएको जनाएको छ। कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, बाटो अवरोध गर्ने तथा सार्वजनिक स्थलमा भिडभाड हुने खालका कार्यक्रमहरू गर्न निषेध गरिएको छ।

पर्वको नाममा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने तथा आतिशबाजी गर्नेहरूलाई तत्काल पक्राउ गरी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सम्भव भएसम्म घरपरिवार र नजिकका आफन्तहरूसँग मात्र होली मनाउन तथा ठुला सार्वजनिक जमघटबाट टाढा रहन आग्रह गरिएको छ।

स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम राख्न जिल्लाभर सुरक्षाकर्मीको परिचालन बढाइएको र नियम उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुन तथा निर्वाचनसम्बन्धी कानुनबमोजिम कडा कारबाही गरिने जनाएको छ।

सुझावित समाचार