खुकुरी देखाउँदै टिकटक भिडियो बनाउने तीन युवक पक्राउ

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

सुर्खेतमा सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन युवकलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार उनीहरूलाई सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्याएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कालीकोटको शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर नगरपालिका– १०, एयरपोर्ट बस्दै आएका १८ वर्षीय सुरेन्द्र शाही, दैलेख घर भई वीरेन्द्रनगर– १०, एयरपोर्ट बस्दै आएका १९ वर्षीय असिम साउद र वीरेन्द्रनगर– ११, पिपिरा बस्दै आएका १८ वर्षीय प्रकाश सुनार रहेको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले बताए।

उनीहरूलाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको उनले बताए। उनीहरू वीरेन्द्रनगरस्थित जननमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्र हुन्।

उनीहरूले सामाजिक सञ्जालमार्फत खुकुरी प्रदर्शन गर्दै भिडियो सार्वजनिक गरेपछि समुदायमा त्रास फैलिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार