राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को साताैँ वार्षिक साधारणसभाले भूपेन्द्र (नीरज) सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
शनिबार काठमाडौंमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा रमण कोइराला र सुवेन्द्र थापा चयन भएका छन्। महासचिवमा दीपक कोइराला तथा सचिवमा प्रद्युम्न बोगटी र प्रतीक्षा श्रेष्ठ चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी सूर्य पोखरेलले पाएका छन्।
सदस्यहरूमा ध्रुव थापा, केशव सिंखडा, विनोद कँडेल, लक्ष्मी खत्री, विनोद बुढाथोकी, एकराज भण्डारी, नीरज पौडेल, त्रिलोचन अधिकारी, गणेश श्रेष्ठ र दुर्गादत्त सापकोटा चयन भएका छन्।
साधरणसभा कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला उपस्थित थिए। उनले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन नवगठित कार्यसमितिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।
निवर्तमान अध्यक्ष सन्तोष प्याकुरेलले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य संस्था तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।

नवगठित कार्यसमितिको अध्यक्ष सिटौलाले संस्थागत सुदृढीकरण, सदस्य संस्थाहरूको हकहित संरक्षण तथा सेवा गुणस्तर अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।