भ्रम फैलने भिडियो–तस्बिर सार्वजनिक नगर्न दूतावासको आग्रह

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

युएईमा विकसित पछिल्ला घटनाक्रमबारे पुष्टि नभएका भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक नगर्न अबुधाबीस्थित नेपाली राजदूतावास अबुधाबीले आग्रह गरेको छ।

दूतावासले एक अपिल जारी गर्दै अज्ञात स्रोतबाट प्राप्त हल्ला, अपुष्ट सामग्री वा आधिकारिक रूपमा पुष्टि नभएका सूचना सामाजिक सञ्जाल प्लाटफर्म तथा अन्य प्राविधिक माध्यममार्फत प्रकाशन वा प्रसारण नगर्न सचेत गराएको हो। साथै, सुरक्षा अवस्थाबारे भ्रम सिर्जना हुने किसिमका सन्देश प्रवाह नगर्न पनि अनुरोध गरिएको छ।

अपिलमा युएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ। युएईका आधिकारिक निकायबाट यस्ता कार्य कानुनबमोजिम दण्डनीय हुने चेतावनीसमेत जारी भएको दूतावासले जनाएको छ।

दूतावासले विकसित परिस्थितिबारे सही र अद्यावधिक जानकारीका लागि युएईका आधिकारिक निकायले सार्वजनिक गर्ने सूचना तथा अपडेटहरूलाई मात्र आधार बनाउन आग्रह गरेको छ। आवश्यक परे दूतावासले उपलब्ध गराएको आधिकारिक सम्पर्क सूत्रमार्फत जानकारी लिनसमेत अनुरोध गरिएको छ।

सुझावित समाचार