मर्यादित र सुरक्षित रूपमा पर्व मनाउन उदयपुर प्रशासनको अनुरोध

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय, उदयपुरले यस वर्षको फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित, सुरक्षित, सभ्य तथा कानुनसम्मत रूपमा मनाउन अनुरोध गरेको छ ।

उल्लास र रंगहरूको पर्वका रूपमा परिचित होली यसपटक संघीय प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधिसँग समेत जुधेकाले सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरेको हो ।

कार्यालयले केही दिनअघि औपचारिक सूचनामा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सर्वसाधारण सबैलाई उच्च सतर्कता अपनाउँदै पर्व मनाउन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, ‘लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण चरण मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार, नाराबाजी, प्रतीक प्रदर्शन वा निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न विशेष ध्यान दिनुहोला ।’ 

प्रशासनका अनुसार फागुन १८ र १९ गते मनाइने होलीलाई अनुशासित, व्यवस्थित र कानुनअनुसार सम्पन्न गराउन सुझाव दिइएको छ । जिल्लाभर सुरक्षा व्यवस्थालाई कडाइ गरिने, भिडभाड हुने सम्भावित स्थानहरूमा निगरानी बढाइने तथा आचारसंहिता उल्लंघनका गतिविधि भएमा तुरुन्त कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

सूचनामा विशेष गरी भिडभाड हुने कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था स्मरण गराइएको छ । साथै, कसैको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, उच्छृंखल व्यवहार गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा सामाजिक सदभाव बिगार्ने खालका गतिविधि नगर्न प्रशासनले कडाइका साथ सचेत गराएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने, बाटो अवरुद्ध गर्ने तथा सुरक्षाकर्मी, कर्मचारी वा सर्वसाधारणमाथि दुर्व्यवहार गर्ने कार्य कानुनविपरीत हुने उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि संयुक्त सुरक्षा टोली परिचालन गरिने जनाइएको छ । ट्राफिक व्यवस्थापनलाई समेत सुदृढ बनाइने र सवारी जाँचलाई प्रभावकारी बनाइने प्रशासनको तयारी छ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै पक्षलाई आह्वान गर्दै उल्लंघन भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ । 

प्रशासनले होली आपसी प्रेम, सदभाव र सामाजिक एकताको प्रतीक पर्व भएकाले यसको मौलिकता जोगाउँदै सभ्य ढंगले मनाउन आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने, उत्तेजनात्मक सामग्री प्रकाशन गर्ने वा समुदायबिच वैमनस्य सिर्जना गर्ने प्रयास नगर्न पनि सबैमा अपिल गरिएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन तथा कानुनविपरीत गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिँदै प्रशासनले जिम्मेवार नागरिकको रूपमा भूमिका निर्वाह गर्न सबैलाई अनुरोध गरेको हो ।

सुझावित समाचार