बाँके २ मा मधेशी र मुस्लिमको मत निर्णायक

विरासत फर्काउने दाउमा राप्रपा र एमाले, चुनौती दिँदै कांग्रेस र रास्वपा

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

नेपालगन्ज उपमहानगरपालिकाको २१ वडा र डुडुवा गाउँपालिका समेटिएको बाँके २ मा चुनावी माहोल तातिएको छ । कुल २० जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यो क्षेत्रमा एमालेका मोहम्मद इस्तियाक राई, कांग्रेसका सुधांशु कोइराला, नेकपाका दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराज देवकोटाबिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

मधेशी र मुस्लिमको मत निर्णायक हुने भएकाले अधिकांश उम्मेदवार र राजनीतिक दलले यसतर्फ जोडबल गरेका छन् । अधिकांश उम्मेदवार र राजनीतिक दलहरू मधेशी र मुस्लिमको मत आफ्नो पोल्टामा पार्न विभिन्न उपाय अपनाउँदै आएका छन् । नयाँ दलका उम्मेदवारले कडा चुनौती दिने देखिएपछि आफ्नो साख जोगाउने दाउमा पुराना दल लागेका छन् । मधेशी र मुस्लिमको मत यताउता जान सक्ने भएकाले एमालेले आफ्नो शक्ति यसतर्फ लगाएको छ । एमालेका राई मधेशी र मुस्लिमको प्रतिनिधित्व गर्छन् । यसै क्षेत्रबाट विजयी भएर दुईपटक मन्त्री भइसकेका उनले यसपटकको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । ०७० मा एमालेका दिनेशचन्द्र यादव र ०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणासँग पराजित भए । 

एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका राणाले राईलाई ६ हजार ५७ मतान्तरले पराजित गरेका थिए । राणाले २९ हजार ५७७ मत प्राप्त गर्दा जसपा उम्मेदवार राईले २३ हजार ५२० मत ल्याएका थिए । उनी अहिले एमालेबाट उम्मेदवार बनेका छन् । राई आफ्नो कार्यकालमा गरेका विकासका कामबाट आफ्नो निर्वाचन क्षेत्रमा स्थापित छन् । विकासको कामले जनताबाट अनुमोदित हुनेमा उनी ढुक्क छन् । 

पहाडी, मधेशी र मुस्लिम समुदायको मिश्रित बसोवास रहेको क्षेत्रमा मतदाताको झुकाव कता जान्छ भन्ने विषयमा यकिन गर्न सकिने अवस्था छैन । यस क्षेत्रमा एक लाख पाँच हजार मतदाता छन् । कांग्रेस उम्मेदवार कोइराला पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाका भतिजा हुन् । उनी कांग्रेस बाँकेका सचिवसमेत हुन् । राजनीतिक संस्कारमा हुर्किएका कोइराला पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन् । ०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणा एमाले–राप्र्रपाका उम्मेदवारसँग पराजित भए । उनले जमानतसमेत जोगाउन सकेनन् । 

अघिल्लो निर्वाचनजस्तो यसपटक नहुने कांग्रेस उम्मेदवार सुधांशु कोइरालाले बताए । ‘अहिले कांग्रेस एकढिक्का छ । चुनावी माहोल पनि एकदमै राम्रो छ,’ उनले भने, ‘मधेशी, मुस्लिम र हिन्दु धर्ममा आस्था राख्ने पहाडी मूलका मतदाताको भोट मलाई आउँछ ।’ रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठ पनि बलियो देखिएका छन् । मतदाताले यसपटक नयाँ दललाई रोज्नेमा उनी विश्वस्त छन् । अघिल्लो निर्वाचनमा रास्वपाका विनोद अग्रहरीले एक हजार तीन सय मत पाएका थिए । यसपालि आफू जितनजिक पुगेको श्रेष्ठले दाबी गरे । ‘पुराना दलप्रति जनताको वितृष्णा बढेकाले यसपटक जित निश्चित छ,’ उनले भने । 

राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको नारा अघि सारेको राप्रपाले पनि निर्वाचन आफ्नो पक्षमा हुने दाबी गरेको छ । राप्रपाका उम्मेदवार ऋषिराज देवकोटाले जनता राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको पक्षमा भएको बताए । उनले बाँके २ मा हिन्दुको बाहुल्य भएको बताउँदै मुस्लिम समुदायले समेत राजासहितको प्रजातन्त्र चाहेको बताए । नेकपाका उम्मेदवार दीपेन्द्र विष्ट पनि प्रतिस्पर्धामा देखिएका छन् । उनले पनि मतदाता आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । पछिल्लो समय मतदाता नेकपाको पक्षमा देखिएको बताउँदै जित निश्चित भइसकेको बताए ।

See More On

सुझावित समाचार