बैतडीको पुरचौँडी नगरपालिका– १० महरागाउँमा ज्वरोका कारण दुई बालकको ज्यान गएको छ । ज्वरोको लक्षण देखिएका १३ वर्षीय विनोद महरा र उनकै भाइ १० वर्षका विकास महराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । ३५ वर्षीया मानमती महराका दुई छोराको एक साताभित्रै ज्यान गएपछि उनको कोख रित्तिएको छ ।
उच्च ज्वरो आउने, बान्ता हुने, जिउ तथा आँखा दुख्नेजस्ता लक्षणले दुवै बालकको मृत्यु भएको स्थानीय किशोर धामीले बताए । उनका अनुसार विनोदको गत सोमबार र विकासको शनिबार बिहान मृत्यु भएको हो । ज्वरोबाट सिकिस्त बनेका विकासलाई शनिबार अस्पताल लैजान गाउँलेहरूले गाडी मगाएका थिए । गाडी आइनपुग्दै बान्तापछि उनको मृत्यु भएको स्थानीय नरेश महराले बताए । उनका अनुसार विनोदलाई पनि गत सोमबार अस्पताल लैजान घरबाट १० मिनेट हिँडेर सडकमा पुर्याइएको थियो । गाडी चढ्नै लाग्दा बेहोस भएर ढलेपछि उनको मृत्यु भएको महराले बताए ।
विनोद गलेश्वर मावि कक्षा ७ र विकास भौनेली आधारभूत विद्यालयमा तीन कक्षामा पढ्थे । एक साताभित्रै दुई छोरा गुमाएकी मानमतीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको स्थानीय किशोर धामीले बताए । मानमतीका श्रीमान् कैलाश कामको खोजीमा काठमाडांै गएका थिए । जेठो छोराको मृत्यु भएको खबर पाएपछि उनी तीन दिनअघि मात्रै घर आएका थिए । कान्छो छोराको पनि घर फर्किएको तेस्रो दिनमै मृत्यु भएपछि महरा परिवार विक्षिप्त बनेको छ ।
पूरै गाउँभरि ज्वरोको लक्षण भएका दर्जनौँ बिरामी रहेको स्थानीयले बताएका छन् । ‘एकै घरका दुई बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ,’ स्थानीय किशोर धामीले भने, ‘गाउँभरि यस्तै ज्वरोका बिरामी छन् ।’
पछिल्लो केही दिनयता हाट स्वास्थ्यचौकीमा दैनिक पाँच–सातजना ज्वरोका बिरामी आइराख्ने स्वास्थ्यचौकीका इन्चार्ज दीपेन्द्र धामीले बताए । उनले ज्वरो कारण मात्र यति छिटो ज्यान जान नसक्ने बताउँदै बिरामीको मृत्युको कारण परीक्षणपछि मात्र थाहा हुने बताए । गाउँमा ज्वरोका बिरामीको संख्या बढेको खबर पाएपछि जिल्ला अस्पताल बैतडीबाट डा. सिजन खड्कासहितको टोली घटनास्थल पुगेको छ । खड्काले बिरामीहरूको स्याम्पल लिएर आएको र धनगढी वा काठमाडौंमा परीक्षण गरेपछि थप विषय थाहा हुने बताए ।