इजरायलले इरानमाथि गरिरहेको आक्रमणमा अमेरिका पनि संलग्न रहेको पुष्टि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भिडियो सन्देश जारी गर्दै इरानविरुद्धको कारबाहीमा अमेरिकाको प्रत्यक्ष भूमिका रहेको बताएका छन्।
ट्रम्पले करिब आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै अमेरिकाले इरानमा 'ठूला लडाइँका कारबाहीहरू' सुरु गरेको दाबी गरेका हुन्। उनले इरानको मिसाइल कार्यक्रमलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्।
'इरानले क्षेत्रीय स्थायित्वलाई चुनौती दिँदै आएको छ। अब अमेरिकाले निर्णायक कदम चालेको छ,' ट्रम्पले भिडियोमा भनेका छन्। उनले आवश्यक परे इरानको मिसाइल उद्योग नै ध्वस्त पार्ने चेतावनीसमेत दिएका छन्।
यसअघि इजरायल र इरानबिच बढ्दो तनावका बिच अमेरिकाको प्रत्यक्ष संलग्नताबारे विभिन्न अड्कलबाजी भइरहेका थिए। तर, ट्रम्पको पछिल्लो अभिव्यक्तिले ती अड्कलबाजीलाई पुष्टि गरेको विश्लेषण गरिएको छ।
अमेरिकाको यस कदमले मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले भने संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गर्दै आएको छ।
यस विषयमा इरान सरकारको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।