जय ट्रफी पुरुष इलिट कप : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

पुन: एकपटक विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले दुईदिवसीय जय ट्रफी पुरुष इलिट कप क्रिकेटको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अब, फाइनल खेल भने तीन दिनको हुनेछ । यसअघि फागुन १७–१९ का लागि तय भएको फाइनल खेल आसन्न प्रतिनिधिसभाको चुनावका कारण सारिएको छ । अब, फाइनल खेल चैत २१ देखि २३ सम्म हुनेछ । 

आर्मीले लिग चरणमा ६६ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । अन्तिम खेलमा बागमती प्रदेशलाई हराएको नेपाल पुलिसले ६५.५ अंक जोडेर आर्मीसँगको भेट पक्का गर्यो । दुवै टोली लगातार फाइनलमा स्थान बनाउन सफल भए । यसअघि पनि आर्मी र पुलिस नै फाइनलमा पुगेका थिए । 

फाइनलमा पुलिस २८ रनले विजयी हुँदै उपाधि जितेको थियो । पुलिस लगातार दोस्रोपटक उपाधि जित्ने योजनामा रहनेछ । आर्मी भने पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ । दुवै टोलीमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य रहेको छ । 

आर्मी र एपिएफको ड्र
प्रतियोगिताको तेस्रो खेलमा आर्मीले अर्काे विभागीय टोली एपिएफ क्लबविरुद्ध ‘ड्र’ खेल्यो । मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो इनिङमा आर्मीले तीन सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । एपिएफले दिनको समाप्तिमा ४७ ओभरमा दुई सय २८ रन बनाउँदा मात्र सात विकेट गुमाएपछि हार टारेको थियो । 

दोस्रो इनिङ्समा एपिएफका लोकेश बमले सर्वाधिक ६४ रन बनाए । कप्तान रोहित पौडेलले ३५, दीपक बोहराले ३२ अनि आसिफ शेख र सुमित महर्जनले समान ३१ रन बनाए । आर्मीका नरेन साउदले सर्वाधिक पाँच विकेट लिए । 

त्यसअघि दोस्रो इनिङ्स सुरु गर्दा आर्मीले एक सय १२ रनको अग्रता बनाएको थियो । आर्मीका बसिर अहमदले अविजित एक सय एक रनको शतकीय इनिङ्स खेले । कप्तान विनोद भण्डारीले ६३ रन बनाए । इमरान शेखले ४१ रन बनाए । सोमपाल कामीले २९ रन बनाए । एपिएफका कप्तान रोहितले तीन विकेट लिएका थिए । 

यसअघि बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पहिलो दिनमा ६८.४ ओभर खेल्यो । नौ विकेट गुमाएर दुई सय ५२ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो । ओपनर तृतराज दासले एक सय दुई रन बनाएका थिए भने इमरान शेखले ७१ रन बनाएका हुन् । यी दुई मिलेर सानदार सुरुवात गर्दै पहिलो विकेटका लागि एक सय ७२ रनको साझेदारी गरेका थिए । 

एपिएफका लागि पहिलो इनिङमा युवराजले पाँच विकेट लिए । कप्तान रोहित पौडेलले दुई विकेट लिए । त्यसपछि जवाफी ब्याटिङमा एपिएफले अलआउट हुँदै एक सय ४० रन मात्र बनाउन सक्यो । कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाएका थिए । आर्मीका सोमपाल कामीले चार विकेट लिएका थिए । 

पुलिस लगातार फाइनलमा 
पुलिस भने लगातार प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भयो । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पुलिसले बागमती प्रदेशलाई आठ विकेटले हरायो । दोस्रो इनिङमा बागमती प्रदेशले दिएको ८९ रनको लक्ष्य पुलिसले दुई विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि सोहेल कुँवरले अविजित ३५ रन बनाए । शंकर रानाले २७ रन बनाए भने करण केसीले अविजित २५ रन बनाए ।

त्यसअघि दोस्रो इनिङमा पुलिसले बनाएको एक सय ४९ रनको अग्रता पछ्याउँदा बागमती दुई सय ३७ रन बनाएर अलआउट भयो । इसान पाण्डेले सर्वाधिक ८० रन बनाएका थिए । त्यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले पहिलो इनिङमा ५३.५ ओभरमा अलआउट हुँदा मात्र एक सय ८५ रन बनाएको थियो । 

सुझावित समाचार