धनुषामा प्रेम सम्बन्धसँग सम्बन्धित विवादमा सुमित मण्डलको हत्या गरिएको खुलेको छ ।
जिल्लाको औरही गाउँपालिका– ६ स्थित खेतमा बिहीबार अपराह्न करिब ४ बजे हंसपुर नगरपालिका– ९, रुदौलीका १९ वर्षीय सुमित मण्डल मृत अवस्थामा फेला परेका थिए । मण्डलको घाँटी रेटिएको थियो भने दुवै हात पछाडि बाँधिएको अवस्थामा शव भेटिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धको कारण मण्डलको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न आरोपमा मृतकसँग प्रेम सम्बन्धमा रहेकी हंसपुर नगरपालिका– ९ की १७ वर्षीया किशोरी काजलकुमारी मण्डलसहित तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र काका २९ वर्षीय परमेश्वर मण्डल पनि छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार सुमित र काजलबिच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । घटनाकाे दिन काजल अभिभावकसँग आफ्ना आफन्तको विवाह समारोहमा गएका वेला सुमित मोटरसाइकल लिएर उनलाई भेट्न पुगेका थिए । त्यसक्रममा काजलका आफन्तले सुमितलाई घरभित्रै नियन्त्रणमा लिएर कुटपिट गरेको र पछि करिब डेढ किलोमिटर टाढा खेतमा लगेर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनामा प्रयोग भएको खुकुरी, मोटरसाइकललगायत सामग्री बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।