कांग्रेस सभापति गगन थापाले जेन–जी आन्दोलनपछि देशलाई स्थिरतामा राख्न चुनाव अनिवार्य सर्त भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित कर्णाली प्रदेशस्तरीय चुनावी सभामा उनले निर्वाचन सफल पार्न कांग्रेस लागिरहेको बताए ।‘योभन्दा अर्को विकल्प थिएन र अहिले छैन । त्यस कारणले गर्दा डे वानबाटै, पहिलो दिनबाटै, चुनाव घोषणा भएको दिनबाटै दायाँबायाँ नगरीकन, चुनावको परिणामको चिन्ता नगरीकन चुनावलाई सफल बनाउन कांग्रेस लागेको छ,’ उनले भने, ‘चुनावका सन्दर्भमा हामीले भदौ २३ र २४ लाई बिर्सिएर हुँदैन ।’
२१ फागुनको चुनाव आउन केही दिन मात्रै बाँकी र यो चुनाव यसरी आउँछ कल्पना पनि नगरेको उनले बताए । ‘यसमा दुईवटा प्रवृत्ति छ । एउटा इन्कार गर्छ । र, भन्छ– भदौ २३ गते र २३ गतेअगाडि देश ठिकठाक थियो । सब ठिकठाक छ, सबले दुधभात खाएका थिए । केही बिग्रेको छैन,’ उनले भने, ‘अर्को प्रवृत्ति छ, बोल्दैन, भन्दैन । तर, २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ । यो दुईवटै सोचले नेपालमा २३ र २४ को अवस्था आएको हो । कांग्रेस यो दुवै सोचभन्दा भिन्न छ ।’
सभापति थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले ०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताए । ‘०४६ पछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एकजना मानिस पनि बच्दैन,’ उनले भने ।
थापाले निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउनका लागि सहयोग गर्न आग्रह गरे । ‘विगत ५–६ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागि मात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नुपर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ,’ उनले भने, ‘यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउनेछौँ भनेर सपना बोकेर आएका छौँ ।’
‘पाँच वर्षमा गाडी गतिमा दौडिन्छ, दुर्घटना हुन दिँदैनौँ’
कांग्रेस सभापति गगन थापाले अबको पाँच वर्षमा गाडी गतिमा दौडिने र विनादुर्घटना राजमार्गमा गाडी बेतोडले दौडने बताएका छन् । बिहीबार नेपालगन्जको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो पाँच वर्ष सुशील कोइरालाले बनाउनुभएको संविधान भनेको बाटो हो । राजमार्ग हो । त्यो राजमार्गमा गएको सात वर्षको क्षतिपूर्ति गर्ने गरीकन गाडी बेजोडले दौडाउँछौँ, बेजोडले । कहीँ नरोकीकन ।’
थापाले गाडीमा कोही पनि नछुट्ने दाबी गरे । ‘सबैलाई लिएर त्यो गाडीमा । कसैलाई नछोडीकन । सबै जातजाति, भाषा, समुदाय सबैलाई गाडीमा राखेर युवा–बुढा सबैलाई राखेर गाडी बेजोडले दौडाउँछौँ,’ उनले भने । उनले गाडी दौडाएर मात्र नहुने भन्दै दुर्घटनामा पनि पर्न नहुने बताए । ‘गाडी दौडाएर मात्र हुँदैन । एउटा कुराको ग्यारेन्टी चाहिन्छ । कांग्रेसको एउटा ग्यारेन्टी गाडी दौडिन्छ । गतिमा दौडिन्छ । अर्को ग्यारेन्टी गाडी एक्सिडेन्ट (दुर्घटना)मा पर्दैन । त्यो महŒवपूर्ण कुरा हो । सबैभन्दा महŒवपूर्ण कुरा त्यो हो,’ उनले भने ।
थापाले गाडी चलाउँदा चटकेको जस्तो व्यवहार गर्ने हो भने गाडी दुर्घटनामा पर्ने भन्दै सरकारलाई गाडीसँग तुलना गरेका हुन् । रास्वपाका शीर्ष नेताहरूको चटकतर्फ संकेत गर्दै उनले भने, ‘यहाँ चटक गरेको जस्तो आएर मैले गाडी दौडाएँ भने गाडी उड्छ पनि । म सिटमा बसेँ भने गाडी आफैँ उड्छ । म सिटमा बसेँ भने गाडी आफैँ दौडिन्छ भनेर सुन्न रमाइलो हुन्छ । ताली पनि बज्छ । तर, गाडी राजमार्गमै दौडाउने हो ।’