सत्ताका लागि निर्णायक मधेशमा दलहरूका आँखा

३६ लाख ३६ हजार ४१४ मतदाता रहेको मधेशले प्रत्यक्षतर्फ ३२ र समानुपातिक गरी करिब ५५ सांसद सिंहदरबार पठाउँछ । यहाँको मतले सत्ता समीकरणमा निर्णायक सामथ्र्य राख्ने भएकाले दलहरूको चुनावी रणनीति, नेतृत्वको उपस्थिति, घोषणापत्रका एजेन्डा र नारा मधेशकेन्द्रित छन् ।

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

कुल ३६ लाख ३६ हजार ४१४ मतदाता रहेको मधेश प्रदेशले देशका कुल मतदाताको करिब २० प्रतिशत हिस्सा ओगट्छ । प्रत्यक्षतर्फ आठ जिल्लामा ३२ सिट अर्थात् प्रतिनिधिसभाका कुल प्रत्यक्ष सिटको झन्डै १९ प्रतिशत । समानुपातिक मतमा पनि मधेशको योगदान निर्णायक हुने भएकाले सिंहदरबारको यात्रा यहीँबाट सहज र निर्णायक हुन्छ भन्ने बुझाइ प्रमुख दलमा छ । यही गणितले कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी सबै मधेशतर्फ केन्द्रित छन् ।

यसपटकको चुनावमा प्रमुख दलहरूले मधेशलाई केवल क्षेत्रीय प्रतिस्पर्धा होइन कि सिंहदरबारको यात्रा तय गर्ने निर्णायक मैदानका रूपमा लिएका छन् । मधेशको मतले सत्तासमीकरण उथलपुथल गराउने सामथ्र्य राख्ने भएकाले दलहरूको चुनावी रणनीति, नेतृत्वको उपस्थिति, घोषणापत्रका एजेन्डा र नाराहरू मधेशकेन्द्रित देखिन थालेका छन् । यद्यपि, शीर्ष नेताहरूको अन्य क्षेत्र पनि चुनावी मैदानमा चर्चामा छन् । 

समग्र तथ्यांकको विश्लेषण गर्दा कुल मतदाता संख्या एक करोड ८९ लाख तीन हजार ६८९ छ । मधेशमा कुल मतदाताको १९.२३ प्रतिशत मतदाता छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सिटमध्ये मधेशका आठ जिल्लामा ३२ सिट छ । यो कुल सिटको १९।३९ प्रतिशत हो । जबकि, मधेशमा आठ जिल्ला मात्रै छन् । यो भनेको १०।३८ प्रतिशत हो । यस्तै, मधेशमा ३६ लाख ३६ हजार ४१४ मतदाता छन् । तीन प्रतिशत थ्रेसहोल्ड सीमा हेर्दा मधेशबाट २० देखि ३० सिट समानुपातिकमा प्राप्त हुने देखिन्छ । प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा ५० सिटको प्रतिनिधित्व हुने देखिन्छ । 

निर्वाचन आफ्नो पक्षमा पार्न दौडधुप गरेका दलहरूमध्ये रास्वपाले चुनावी अभियान जनकपुरबाट सुरु गरेको थियो । कांग्रेसले पनि मधेशलाई नै ‘फोकस’ गरेको छ । रास्वपाले मधेशी मूलका बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि बढेको छ । यद्यपि, उनी झापा ५ बाट उम्मेदवार छन् । रास्वपाले बालेनलाई मधेशमा ‘पोस्टर ब्वाय’ बनाएर मत मागिरहेको छ । 

उता कांग्रेस सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार गगन थापा आफैँ मधेश झरेका छन् । उनी सर्लाही ४ बाट चुनावी मैदानमा उत्रेका छन् । तराई झरेर मधेशका लागि नजिकबाट काम गर्न आएको भन्दै उनले सिंगो मधेशलाई ‘कन्भिन्स’ गर्ने कोसिस गरिरहेका छन् । मधेशको माटो लोकतान्त्रिक आन्दोलनको महŒवपूर्ण आधारभूमि रहेको उल्लेख गर्दै मधेशका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता उनको छ । स्रोतका अनुसार सर्लाही ४ मा उनको उम्मेदवारी परम्परागत मतदातालाई जोडेर मधेशमा कांग्रेसलाई बलियो बनाउने हो । 

मधेशमा पुरुष १९ लाख ७२ हजार ९६४, महिला १६ लाख ६३ हजार ३७४ र अन्य ७६ गरी ३६ लाख ३६ हजार ४१४ मतदाता छन् । ०७९ को निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ ७२ हजार ९३५ मत मात्रै प्राप्त गरेको थियो । यो दुई प्रतिशत मात्रै हो । सबैभन्दा बढी मतदाता भएको प्रदेशमा थोरै मत प्राप्त गरेको रास्वपाले यसपटक मधेशलाई सबैभन्दा बढी प्राथमिकतामा राखेको छ । मधेशी मूलका वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । मधेशमा ‘अब कि बार बालेन सरकार’ भन्ने नारा नै चलेको छ । 

मधेशमा पहिलो शक्ति बन्ने लक्ष्य रास्वपाको रहेको नेता असीम शाह बताउँछन् । ‘सबैभन्दा धेरै उत्साह नै मधेशमा छ । खसेको भोटको ५० प्रतिशत समानुपातिक मत आउने देखिएको छ । एकदमै उत्साह र लहर छ । बालेन आफैँ मधेशी मूलका हुन्,’ उनले भने, ‘मधेशलाई फोकस गरेर अगाडि बढेका छौँ । हामी साँच्चिकै परिवर्तन गर्न चाहन्छौँ । मधेशले परिवर्तनलाई आत्मसात् गर्दै छ ।’

अघिल्लो निर्वाचनमा यहाँ पहिलो दल कांग्रेसले मधेशलाई आफ्नो जनाधार मान्दै आएको छ । उपसभापति विश्वप्रकाश शर्मा मधेशमा कांग्रेस पहिलो दल बन्ने बताउँछन् । उनका अनुसार मधेशको जनाधार भएकाले जनकपुरबाटै पहिलो सभा गरिएको हो । उनले मधेशको विकासका लागि प्रधानमन्त्रीका उम्मेदवार सभापति थापा मधेशबाट उम्मेदवार बनेका हुन् । 

कांग्रेस महामन्त्री प्रदीप पौडेलले मधेशलाई कांग्रेसले उच्च प्राथमिकतामा राखेको र त्यसैले नतिजामा धेरै सकारात्मक प्रभाव पार्ने बताउँछन् । ‘कांग्रेसबाट प्रस्तावित प्रधानमन्त्री स्वयं चुनाव लड्न मधेश जानुभएको छ । यस आधारमा पनि मधेश हाम्रो प्राथमिकतामा रहेको स्पष्ट हुन्छ । देशका समग्र एजेन्डालाई मुखरित गर्दै नीति र दृष्टिकोणमा स्पष्टता ल्याउने क्रममा कांग्रेस अहिले मधेशको सवालमा अझ प्रस्ट भएको छ । अब हाम्रो जोड मधेशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ हुनेछ,’ उनले भने । 

पौडेलका अनुसार मधेशको सहभागितालाई राष्ट्रिय राजनीति र नीति निर्माण प्रक्रियामा उल्लेखनीय रूपमा आत्मसात् गर्दै प्राथमिकताका साथ अघि बढाउने कांग्रेसको नीति छ । ‘जनकपुरमा भएको पहिलो सभाले नै सकारात्मक नतिजाको संकेत गरिसकेको छ । सभापति स्वयं त्यहाँ पुगेर चुनाव लड्नु मधेशप्रति कांग्रेसको प्राथमिकताको प्रमाण हो । त्यसैले यसले नतिजामा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने । 

०७९ को निर्वाचनमा दोस्रो बनेको एमाले मधेशमा विरासत जोगाउने कसरतमा छन् । नेतृत्व कोशी प्रदेशमा केन्द्रित हुँदा पार्टीपंक्ति मधेशमै केन्द्रित छ । नेतृ जुली महतोका अनुसार मधेशमा एमालेको संगठन राम्रो छ । तर, अध्यक्ष केपी ओलीको महोत्तरी तथा धनुषालाई झापासँग तुलना गरेर गुइँठासँग जोडेर फोहोरी भनेको, सचिव महेश बस्नेतले मधेशी भाषालाई होच्याउने गरी प्रतिक्रिया दिँदा समस्या भएको सार्वजनिक अभिव्यक्ति दिएकी छिन् । 

एमाले उपमहासचिव एवं धनुषा ४ का उम्मेदवार रघुवीर महासेठ जेन–जी आन्दोलनपछि सुरुमा केही असहज देखिए पनि मधेशमा एमालेको पक्षमा माहोल बन्ने दाबी गर्छन् । ‘बिचमा आन्दोलनका कारण बनेको परिस्थितिमा अहिले धेरै सुधार आएको छ । त्यसैले एमालेको अवस्था मधेशमा मात्र होइन, देशव्यापी रूपमा सुधार हुँदै गएको निष्कर्ष छ,’ उनले भने, ‘यद्यपि, नेतृत्व तहबाट मधेशबारे अभिव्यक्ति दिँदा भाषागत केही कमजोरी भएका स्विकार्छौँ । पहिलेकै नतिजा दोहोरिन्छ वा हुँदैन भन्ने निश्चित भन्न सकिँदैन । तर, अघिल्लोपटकभन्दा सुधारिएको परिणाम आउनेमा आशावादी छौँ ।’

०६४ मा माओवादी हुँदा आफ्नो आधार इलाका बनाएको नेकपाले पनि आफ्नो वर्चस्व कायम गर्न मधेशलाई केन्द्रित गरेको छ । पूर्वप्रधानमन्त्री माधव नेपालदेखि पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसम्म मधेशबाट चुनाव लडेका छन् । नेपाल रौतहट १ का उम्मेदवार छन् । यद्यपि, नेकपाले कर्णाली, सुदूरपश्चिमलाई पनि केन्द्रित गरेको नेताहरू बताउँछन् । 

नेकपा नेता तथा सर्लाही ४ का उम्मेदवार नारायणकाजी श्रेष्ठ तुलनात्मक रूपमा मधेशबाट पहिलाभन्दा राम्रो नतिजा आउने बताउँछन् । ‘अहिले पूरै खटिरहेका छौँ । सबै ठाउँमा हाम्रा उम्मेदवार छन् । सबै कमिटी परिचालित छन् । एउटा नीतिले र अर्को सहभागिताले मधेशमा फोकस गरिरहेका छौँ,’ उनले भने, ‘मतदाताको प्रतिक्रिया सकारात्मक पाइरहेका छौँ । तुलनात्मक रूपमा मधेशबाट पहिलाभन्दा राम्रो नतिजा आउँछ ।’ 

मधेशकेन्द्रित दलले पनि आफ्नो वर्चस्व यथावत् राख्न कसरत गरिरहेका छन् । पुराना दलका कारण काम गर्न नसकेको भन्दै मतदाता फकाउने रणनीतिमा छन् । 
रास्वपाले मधेशका साथै दोस्रो बढी मतदाता भएको बागमती र तेस्रो बढी मतदाता भएको कोशीलाई पनि केन्द्रित गरेको छ । कोशीमा वरिष्ठ नेता बालेन झापा ५ मा पूर्वप्रधानमन्त्री केपी ओलीसँग प्रतिस्पर्धा गर्दै छन् । अझै पनि पूर्वी पहाडका सबै जिल्ला पुगेर उनले माहोल बनाउने कोसिस गरेका थिए । 

मधेशमा कसको के अपेक्षा ?
प्रदीप पौडेल, महामन्त्री, कांग्रेस

कांग्रेसबाट प्रस्तावित प्रधानमन्त्री स्वयं चुनाव लड्न मधेश जानुभएको छ । यस आधारमा पनि मधेश हाम्रो प्राथमिकतामा रहेको स्पष्ट हुन्छ । अब हाम्रो जोड मधेशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ हुनेछ । जनकपुरमा सभाले नै सकारात्मक नतिजाको संकेत गरिसकेको छ । 
रघुवीर महासेठ, उपमहासचिव, एमाले
बिचमा आन्दोलनका कारण बनेको परिस्थितिमा अहिले धेरै सुधार आएको छ । त्यसैले एमालेको अवस्था मधेशमा मात्र होइन, देशव्यापी रूपमा सुधार हुँदै गएको निष्कर्ष छ । पहिलेकै नतिजा दोहोरिन्छ भन्न त सकिँदैन । तर, सुधारिएको परिणाम आउनेमा आशावादी छौँ ।

नारायणकाजी श्रेष्ठ, नेता, नेकपा
अहिले पूरै खटिरहेका छौँ । सबै ठाउँमा हाम्रा उम्मेदवार छन् । सबै कमिटी परिचालित छन् । एउटा नीतिले र अर्काे सहभागिताले मधेशमा फोकस गरिरहेका छौँ । मतदाताको प्रतिक्रिया सकारात्मक पाइरहेका छौँ । तुलनात्मक रूपमा मधेशबाट पहिलाभन्दा राम्रो नतिजा आउँछ ।

असिम शाह, नेता, रास्वपा
सबैभन्दा धेरै उत्साह नै मधेशमा छ । एकदमै लहर छ । बालेन आफैँ मधेशी मूलका हुन् । मधेशलाई फोकस गरेर अगाडि बढेका छौँ । हामी साँच्चिकै परिवर्तन गर्न चाहन्छौँ । मधेशले परिवर्तनलाई आत्मसात् गर्दै छ । खसेको भोटको ५० प्रतिशत समानुपातिक मत रास्वपालाई आउने देखिएको छ । 

सुझावित समाचार