निर्वाचनलाई मध्यनजर गरी बाँके जिल्लाका सम्पूर्ण नेपाल–भारत सीमानाका १८ फागुन रातको १२ बजेदेखि सिल गरिने भएको छ । मतदानलाई निष्पक्ष र भयरहित बनाउन तीन दिन नाका सिल गरिएको बाँके प्रशासनले जनाएको छ ।
१८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म भारतसँग जोडिएका सम्पूर्ण नाका सिल गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिए ।
सीमा सिल गरिएको अवधिमा एम्बुलेन्स, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, स्वास्थ्यकर्मी, विद्युत् जस्ता अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन हुने उनले बताए ।
उक्त समयमा कूटनीतिक नियोगका सवारीसाधनसमेत सञ्चालनमा रोक नभएको बताउँदै उनले भारतमा अलपत्र परेका नेपाली र नेपालमा रोकिएका भारतीयलाई स्वदेश जाने प्रबन्ध मिलाइने बताए ।
सीमा सिल गर्ने विषयमा भारतीय अधिकारीसँग समन्वय भइसकेको उनले जानकारी दिए । ‘नेपालमा हुन लागेको निर्वाचनका लागि भारतीय पक्षले सघाउने सहमति भएको छ,’ उनले भने ।