२१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सिराहामा तीन दिन सीमानाका बन्द गरिने भएको छ। सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा बिहीबार जारी सूचनामा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका नाकाहरू तीन दिन बन्द रहने उल्लेख छ।
मतदानको तीन दिनअघि १८ फागुनको राति १२ बजेदेखि २१ फागुनको राति १२ बजेसम्म सीमानाका बन्द रहेको सूचनामा जनाइएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चारवटा क्षेत्र कायम गरिएको सिराहामा १, २ र ३ नं. क्षेत्रमा क्रमशः ठाढी, बरियारपट्टी र माडर सीमा नाका पर्छन्। गत ६ माघमा भएको मनोनयनमा चार निर्वाचन क्षेत्रमा साना ठुला दलका ५४ र ८४ जना स्वतन्त्र गरी एक सय ३८ जना उम्मेदवार छन् ।
सिराहाका चारवटा निर्वाचन क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई अन्य गरी चार लाख ५३ हजार ६४५ मतदाता, २२३ मतदानस्थल र ५३१ मतदान केन्द्र कायम गरिएको छ।