थ्री स्टार क्लबको ‘ए’ डिभिजन हैसियत यथावत् रहने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अपिल कमिटीले ११ असार ०८२ मा ‘बी’ डिभिजनमा घटुवा गरेपछि थ्री स्टार उच्च अदालत पाटन पुगेको थियो । थ्री स्टारले गत १८ असारमा कमिटीको निर्णय अन्यायपूर्ण रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय, एन्फा, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सहमहासचिव दामोदर भट्टराई बद्री, एन्फा अनुशासन समिति, पुनरावेदन समिति र एपिएफ क्लबलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो ।
सो मुद्दामा न्यायाधीश श्रीधराकुमारी पुडासैनी र कृष्ण मुरारी शिवाकोटीको संयुक्त इजालसले बुधबार थ्री स्टार क्लबकको ‘ए’ डिभिजन हैसियत यथावत् रहेको फैसला गरेको क्लबका पूर्वअध्यक्ष अरुणमान जोशीले बताए । ‘अनुसन्धान समिति र अपिल समितिको निर्णय खारेज भएको छ । योसँगै क्लब ‘ए’ डिभिजनमा रहने निर्णय भएको छ,’ थ्री स्टारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
०७९ मा सम्पन्न ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै रेलिगेसन टारेको थियो । सो खेलमा तत्कालीन कप्तान विक्रम लामाले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । यसै गोलले थ्री स्टार अघि रहँदा विभागीय टोली एपिएफ रेलिगेसनमा परेको थियो । त्यसपछि एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार खेलाउन नपाउने जिकिर गर्दै एन्फामा २८ जेठ ०८० मा उजुरी दिएको थियो । एपिएफले एन्फामा दुई विदेशी खेलाडी पिटर र मार्टिन्सको भिसा सकिए पनि खेलाएको दाबी गरेको थियो । एपिएफले अवैधानिक खेलाडी खेलाएर सम्बन्धित टिम ३–० को नतिजामा पराजित हुने नियमअनुसार कारबाही गर्नुपर्ने माग राखेको थियो । एपिएफको उजुरीमाथि एन्फाको अनुशासन समितिले त्यसको थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टि गरेको थियो । अनुशासन समितिले थ्री स्टार र सम्बन्धित खेलाडीलाई नगद जरिवाना गरेर मात्रै छाडेको थियो ।
अनुशासन समितिको सो निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए । त्यो अपिलमाथि छानबिन गर्दै अपिल कमिटीले गत ५ असारमा अवैधानिक खेलाडी खेलाएबापत थ्री स्टार उक्त खेलमा ३–० को नतिजामा पराजित हुने निर्णय गरेको थियो । योसँगै ३ अंक गुमाएपछि थ्री स्टार खुमलटारसँगै रेलिगेसनमा परेको थियो । एपिएफले भने ‘ए’ डिभिजन क्लबको हौसियत पुनः प्राप्त ग¥यो । १३औँ स्थानमा झरेको थ्री स्टारको २९ अंक हुँदा १२औँ स्थानमा उक्लने एपिएफको ३० अंक हुन्छ । पुछारको खुलमटारको २७ अंक थियो । एपिएफको उजुरीका आधारमा कारबाही गर्नु अन्यायपूर्ण रहेको थ्री स्टारको दाबी थियो ।