काठमाडौंको मध्यवानेश्वरमा रहेको भ्याली भ्यू स्कुलले ‘अभिभावक दिवस २०८२’ मनाएको छ । मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको दिवसमा विद्यार्थीहरूले विभिन्न नृत्य कला, साहित्य तथा सांगीतिक प्रस्तुति देखाए।
करिब दुई हजार अभिभावकको उपस्थितिमा मनाइएको दिवसमा ०८१ को एसइई परीक्षामा जिपिए ४ ल्याउने १० जना विद्यार्थीलाई जनही १० हजार र सम्मानपत्र प्रदान गरियो।
विद्यालयका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले विद्यार्थीको सिकाइ र क्षमता विकासमा अभिभावकको प्रत्यक्ष भूमिका रहने बताउँदै अभिभावकले विद्यार्थी समय दिने, शैक्षिक वातावरण सहज बनाउनेलगायत कार्यमा ध्यान दिन आवश्यक रहेको बताए। उनका अनुसार विद्यालयले विद्यार्थीको सिकाइ र क्षमता अभिवृद्धिका सवालमा अभिभावकसँग छलफल तथा भलाकुसारी गर्दै आइरहेको छ ।
साथै, विद्यार्थीहरुलाई विभिन्न रचनात्मक कार्यक्रममा सहभागी गराउने, उनीहरूमा भएको कला र क्षमता देखाउन स्थान दिँदा विद्यार्थीको शैक्षिक कार्यमा थप सफलता मिल्ने उनको बुझाइ छ। दिवसमा प्रमुख अतिथिको रूपमा उपस्थित गायिका आनी छोइङ डोल्माले शिक्षाले मानिसलाई चेनता अभिवृद्धि गर्नुका साथै सहयोगी बनाउन शिक्षाले अग्रणी भूमिका खेल्ने बताइन्। ‘शिक्षाले मानिसलाई वास्तविकता पहिल्याउन मद्दत गर्छ, अभिभावकले आफ्ना छोराछोरीलाई समय दिने र शैक्षिक वातावरण तय गरिदिनतर्फ बढी ध्यान दिनुपर्छ,’ उनले भनिन् ।