निर्वाचनमा सुरक्षाकर्मी घाइते भए उपचार खर्च सरकारले व्यहोर्ने
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले सो अवधिमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ।
सर्वाेच्चको आदेशपछि दुर्गा प्रसाईं थुनामुक्त
निर्वाचन बिथोल्ने गतिविधिमा लागेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई रिहा गरेको हो।
सर्वाेच्च अदालतले उनलाई मंगलबार थुनामुक्त गर्न आदेश दिएको थियो। उनलाई पक्राउ गर्ने प्रक्रिया नपुगेको भन्दै सर्वाेच्चले यस्तो आदेश दिएको थियो।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णयहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बुधबार पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार सरकारले गर्नेदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता निर्वाचनपछि गर्नेसम्मका निर्णय गरेको छ।
सरकारी अध्ययन कार्यदलका सदस्य नै फर्जी उद्धारमा संलग्न
पर्यटक क्षेत्रको सुधारका लागि गठन भएको अध्ययन कार्यदलका सदस्य नै पर्यटकको फर्जी उद्धारका नाममा ठगीमा संलग्न रहेको खुलेको छ। नेपाल विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह फर्जी उद्धारमा संलग्न रहेको भन्दै सिआइबीले पक्राउ गरेको हो।
सिंह पूर्वन्यायाधीश अनिल सिन्हाको नेतृत्वमा गत वर्ष सरकारले गठन गरेको नागरिक उड्डयन क्षेत्र अध्ययन कार्यदलका सदस्य हुन्। संयोजक सिन्हा हाल पर्यटनमन्त्री छन्। नागरिक उड्डयन क्षेत्रको विज्ञका आधारमा सिंह सो सरकारी कार्यदलमा मन्त्रिपरिषदबाट सदस्य नियुक्त भएका थिए।
निर्वाचन सुरक्षाबारे आवश्यक प्रबन्ध मिलाउन सरकारलाई आयोगको सातबुँदे निर्देशन
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र त्रासरहित बनाउन गृह मन्त्रालय लाई सातबुँदे निर्देशन दिएको छ।
आयोगले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकपछि सुरक्षा योजनाको पुनरावलोकन गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको हो। फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा आचारसंहिता पूर्ण पालना गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन भनिएको छ।
पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज भएको छ। कर्णाली प्रदेश सभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेश सभा सदस्य पदबाट हटाइएको जानकारी गराएको हो।
शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि नेपाली कम्प्युनिस्ट पार्टीले सांसदबाट हटाउन माग गर्दै पत्र लेखेको थियो। संसद् सचिवालयले पत्रपश्चात् बुधबार शर्मालाई सांसद पदबाट हटाएको जानकारी गराएको हो।
उपत्यकाको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी (फोटोफिचर)
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी खटिन थालेका छन्। उपत्यकाका ट्राफिक प्रहरीलाई निर्वाचनका लागि उपत्यकाबाहिरका विभिन्न जिल्लामा खटाएपछि निर्वाचन प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको हो।
ट्राफिक प्रहरीको संख्या न्यून हुँदा उपत्यकाको सडकमा अव्यवस्था बढेको छ। निर्वाचन प्रहरीले सडक अनुशासन कायम गराउने प्रयास गरिरहेका छन्।
हिमपातसँगै पाथीभरा क्षेत्रमा पर्यटकको चहलपहल
ताप्लेजुङ यतिबेला चुनावी माहोलले तातेको छ। सदरमुकामका चिया पसलदेखि गाउँका चौतारासम्म कसले जित्ला भन्ने बहस चलिरहेको छ। किसानहरू खेतबारीको कामबिच पनि चुनावी चर्चा गर्न भ्याइरहेका छन्। तर, जिल्लाको उच्च हिमाली भेग भने अहिले यो माहोलबाट अलि टाढा छ।
पाथीभरा क्षेत्रमा हिमपातसँगै चुनावी बहसभन्दा पर्यटकको चहलपहल बढेको छ। पछिल्लो हिमपातपछि सेताम्य बनेको पाथीभरा क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक हिमदृश्यमा रमाइरहेका छन्। होटल व्यवसायीहरू पाहुना सत्कारमै व्यस्त छन्।
निर्वाचनलक्षित एलपी ग्यास आयात बढाइयो, एकै दिन १३८ बुलेट नेपाल भित्रियो
आसन्न निर्वाचन अवधिलाई लक्षित गर्दै खाना पकाउने एलपी ग्यासको आपूर्ति अभाव हुन नदिन नेपाल आयल निगमले आयात परिमाण उल्लेख्य रूपमा वृद्धि गरेको जनाएको छ। निगमका अनुसार सम्भावित माग वृद्धिलाई ध्यानमा राख्दै देशव्यापी वितरण प्रणाली सुदृढ बनाउने कदम चालिएको हो।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसनमार्फत यस वर्षकै उच्च परिमाणमा ग्यास लोड भई मंगलबार नेपालतर्फ पठाइएको जानकारी दिए। उनका अनुसार सो दिन विभिन्न डिपोबाट कुल १३८ बुलेट ग्यास लोड गरिएको छ, जुन करिब एक लाख ७३ हजार आठ सय घरायसी सिलिन्डरबराबर हुने निगमले जनाएको छ।
नेप्से १० अंकले बढ्यो, साढे चार अर्बको सेयर कारोबार
बुधबार नेप्से परिसूचक १०.३० अंकले बढेको छ। नेप्से ०.३९ प्रतिशतले बढेर दुई हजार ६४८.९० विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.२६ प्रतिशतले वृद्धि भएको छ।
आज ३३३ कम्पनीका एक करोड चार लाख ५६ हजार कित्ता सेयर चार अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। मंगलबार चार अर्ब सात करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।