उदयपुरमा मतपत्र आइपुग्यो, निर्वाचनको तयारी अन्तिम चरणमा

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ। निर्वाचनसँग सम्बन्धित आवश्यक सामग्री व्यवस्थापन, जनशक्ति परिचालन तथा तालिम कार्यक्रम सम्पन्न भइसकेको र बाँकी प्रक्रियाहरू अन्तिम तयारीमा रहेको कार्यालयले जनाएको छ।

पत्रकार आचारसंहितासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख दीपक दाहालले निर्वाचनको तयारी लगभग पूरा भइसकेको जानकारी दिए। दाहालका अनुसार निर्वाचन आयोगबाट प्राप्त हुनुपर्ने सामग्री तथा जिल्लामा खरिद गर्नुपर्ने सामग्रीको व्यवस्थापन सम्पन्न भइसकेको छ। ती सामग्रीहरू तयारी अवस्थामा मुख्य निर्वाचन कार्यालयमा पठाइसकिएको उनले बताए।

‘आयोगको केन्द्रबाट आउनुपर्ने र जिल्ला कार्यालयबाट खरिद गर्नुपर्ने निर्वाचन सामग्रीको व्यवस्थापन गरेर सम्बन्धित निकायमा पठाइसकेका छौँ। मतपत्र पनि जिल्लामा आइसकेको छ। जनशक्तिको व्यवस्थापन र तयारी पनि पूरा भइसकेको छ,’ प्रमुख दाहालले पत्रकारहरूसँगको छलफलमा भने।

उनले निर्वाचनलाई व्यवस्थित, पारदर्शी र सुरक्षित रूपमा सम्पन्न गर्न कर्मचारीहरूको तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ को तालिम सम्पन्न भइसकेको र निर्वाचन क्षेत्र १ का लागि तयारी भइरहेको उनले बताए। तालिममा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरूलाई मतदान प्रक्रिया, अभिलेख व्यवस्थापन र आचारसंहिता पालनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको छ।

दाहालका अनुसार फागुन १७ गतेदेखि मतदान केन्द्र तथा मतदानस्थलमा कर्मचारीहरू खटाइनेछन्। आवश्यक सामग्रीसहित कर्मचारीहरूलाई सम्बन्धित मतदान केन्द्रमा पठाउने काम सुरु गरिने उनले जानकारी दिए। ‘अब कर्मचारीलाई अन्तिम तयारीमा राखेर सम्बन्धित मतदान केन्द्रमा खटाउने काम मात्र बाँकी छ,’ उनले भने।

जिल्ला निर्वाचन कार्यालयका अनुसार उदयपुरका दुईवटा निर्वाचन क्षेत्रमा कुल ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये २० जनाले मात्र निर्वाचन प्रचार–प्रसार खाता खोलेको तथ्यांक कार्यालयसँग रहेको छ। प्रचार–प्रसार खाता नखोली गतिविधि सञ्चालन नगर्न तथा कानुनी प्रक्रिया अनिवार्य पालना गर्न आयोगले निर्देशन दिएकाले उम्मेदवारहरूलाई सचेत गराइएको जानकारी दिइएको छ। 

निर्वाचन आचारसंहिता अनुगमन समिति उदयपुरका अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयले जिल्लामा निर्वाचन आचारसंहिताको अनुगमन नियमित रूपमा भइरहेको बताए। उनका अनुसार उम्मेदवार, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायहरूले आचारसंहिताको पालना गरे–नगरेको विषयमा निरन्तर अनुगमन तथा निरीक्षण गरिँदै आएको छ।

यसैबिच नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोखरेलले पत्रकारहरूले निर्वाचनको समयमा रिपोर्टिङ गर्दा सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। उनले आचारसंहिता, निष्पक्षता र व्यावसायिक पत्रकारितालाई ध्यानमा राखेर समाचार लेखन तथा प्रकाशन गर्न पत्रकारहरूलाई आग्रह गरे।

अधिकारीहरूका अनुसार मतपत्र, निर्वाचन सामग्री, जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको तयारी पूरा भइसकेको र अब मतदानको दिनलाई लक्षित गर्दै अन्तिम व्यवस्थापनका काम अघि बढाइएको छ।

सुझावित समाचार