एल मेन्कोको हत्या र मेक्सिकोको लागुऔषध समस्या

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

आइतबार मेक्सिकोको सुरक्षा बलले देशको पश्चिमी राज्य जालिस्कोस्थित कुख्यात जालिस्को न्यु जेनेरेसन कार्टेल (सिजेएनजी) का नेता ५९ वर्षीय नेमेसियो रुबेन ओसेगुएरा सर्भान्टेस उर्फ एल मेन्कोको हत्या ग¥यो । मेक्सिकन रक्षा मन्त्रालयका अनुसार यो कारबाही संयुक्त राज्य अमेरिकाबाट प्राप्त ‘पूरक जानकारी’साथ गरिएको थियो, जसको ‘शान्ति निर्माता’ राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध कार्टेलसँग लड्न मेक्सिकोमा आक्रमण गर्ने धम्की दिँदै आएका छन् ।

यी त्यस्ता संस्था हुन्, जसको अस्तित्व अमेरिकी नीति र लागुपदार्थ सेवनबाटै आएको हो । अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले एल मेन्कोको मृत्युको खबरलाई हर्षोल्लाससाथ स्वागत गरे । उनले सामाजिक सञ्जाल एक्समा घोषणा गरे, ‘यो मेक्सिको, अमेरिका, ल्याटिन अमेरिका र विश्वकै लागि ठुलो सफलता हो ।’ 
विश्वव्यापी मामिलामा टाढाबाट ध्यान दिएका जोकोहीले पनि अनुमान गरेजस्तै उनको हत्यापछि मेक्सिकोका धेरै राज्यमा हिंसा फैलिएको छ, जुन सामान्यतया लागुऔषध तस्करलाई कारगार लैजाँदा या स्थानान्तरण गर्दा हुन्छ । बन्दुकधारीले विभिन्न स्थानमा सवारीसाधन जलाइदिएका छन् र राजमार्ग अवरुद्ध गरेका छन् । कतिपय अमेरिकी मिडियाले उथलपुथलका कारण मेक्सिकन रिसोर्ट सहरमा ‘फसेका’ अमेरिकी पर्यटकको दुर्दशाबारे सनसनीपूर्ण विवरण सार्वजनिक गरेका छन् । आफ्नो प्रारम्भिक उत्साहजनक पोस्टको केही समयपछि ल्यान्डाउले एक्समा लेखे, ‘म मेक्सिकोका हिंसाका दृश्य ठुलो दुःख र चिन्तासाथ हेरिरहेको छु । हामीले आफ्नो होस गुमाउनु हुँदैन ।’

संसारको लगभग सम्पूर्ण इतिहासमा एक लागुऔषध नाइकेको हत्याले लागुपदार्थ तस्करीको समस्या समाधान गरेको देखिन्न

उपविदेशमन्त्रीले आफ्नो एक्समा मेक्सिकोका लागि अरू केही शब्द खर्चिए । ‘हौसला बढाउनुहोस्, मेक्सिकोवासी,’ उनले भने । तर, संसारको लगभग सम्पूर्ण इतिहासमा एक लागुऔषध नाइकेको हत्याले लागुपदार्थ तस्करीको समस्या समाधान गरेको देखिन्न । मेडेलिन कार्टेलका पाब्लो एस्कोबारको घटनालाई सम्झनुहोस्, जसलाई १९९३ मा कोलम्बियाली प्रहरीले अमेरिकी औषधि प्रवर्तन एजेन्सी (डिइए) को पूर्ण सहयोगमा हत्या गरेको थियो । एस्कोबारको अनुपस्थितिका बाबजुद अन्तर्राष्ट्रिय लागुऔषध व्यापार तीव्र गतिमा अघि बढ्यो, त्यसपछिका दशकमा कोलम्बियामा उल्लेख्य हिंसा भड्कियो, जसमध्ये धेरैजसो हिंसा अमेरिका समर्थित राज्य सुरक्षा बलद्वारा गरिएको थियो । कोलम्बियाली सेनाका सदस्यले मात्र अनुमानित १० हजार नागरिकको हत्या गरे र तिनका शवलाई ‘वामपन्थी आतंकवादी‘ भनेर बिदाइ गरे । आजसम्म, कोलम्बिया विश्वको शीर्ष कोकेन उत्पादक देश बनेको छ ।

अर्को शब्दमा भन्नुपर्दा एल मेन्कोको मृत्युलाई मेक्सिको वा अरू कसैका लागि ‘महान् प्रगति’ भनेर प्रशंसा गर्नु आफैँमा भ्रमपूर्ण छ । आइतबार मैले दक्षिणी राज्य ओक्साकाका एक मेक्सिकन साथीलाई फोन गरेँ, जो मेक्सिकन राष्ट्रपति क्लाउडिया सेनबाउमका समर्थक थिए । उनको विचारमा मेक्सिकोको सरकारले मेन्कोलाई हटाएर ‘लागुऔषधविरुद्धको युद्ध’मा आफ्नो काम गरिरहेको थियो र अमेरिकाको यसमा ठोस सम्बन्ध थिएन ।

आफ्ना पूर्ववर्ती तथा राजनीतिक गुरु एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरजस्तै वर्तमान राष्ट्रपति सेनबाउमले फोहोरी काम गर्ने कलामा निपूणता हासिल गरेकी छिन् र त्यसलाई उनले ‘सार्वभौम’ तरिकाले काम गरेको दाबी गरिरहेकी छिन् । हो, भेनेजुएलाका राष्ट्रप्रमुख निकोलस मदुरोको अमेरिकाले हालै गरेको अपहरणलाई ध्यानमा राख्दै र ट्रम्पले आफू कुनै पनि कानुनको अधीनमा नभएको बताइरहेकाले गर्दा उनीसँग चालबाजी गर्ने धेरै ठाउँ छैन, चाहे त्यो घरेलु होस् वा अन्तर्राष्ट्रिय । तर, सेनबाउमले अमेरिकीलाई अस्थायी रूपमा शान्त पार्नु र ट्रम्पको आवश्यकता पूरा गर्नुबाहेक विकल्प नदेखेकी हुन सक्छिन् । 

समकालीन मेक्सिकन इतिहासको संक्षिप्त समीक्षाले पनि यही पुष्टि गर्छ । सन् २००६ मा तत्कालीन मेक्सिकन राष्ट्रपति फेलिप काल्डेरोनले अमेरिकी निर्देशनमा ‘लागुऔषध युद्ध’ सुरु गर्नेबित्तिकै देशमा हत्या र जबर्जस्ती बेपत्ता पार्ने घटना बढे । त्यसवेलादेखि पाँच लाखभन्दा बढी मानिस मारिएका या बेपत्ता पारिएका छन्, जसमध्ये धेरैजसो राज्यका सैन्यीकृत एजेन्टको सि कार भएका छन् ।

अमेरिकामा निर्मित हतियारको दक्षिणतर्फको प्रवाह जारी छ भने लागुऔषधको उत्तरतर्फको प्रवाहमा बाधा पुगेको छ । जलिस्को राज्यमै सम्पूर्ण मेक्सिकोमा सबैभन्दा बढी जबर्जस्ती बेपत्ता पार्ने घटना भएका छन् र गत वर्ष आगामी विश्वकपका आयोजक सहरमध्ये एक ग्वाडालजाराबाहिरको खेतमा गोप्य शवदाह गृहको खोजीसँगै समाचारको शीर्षक बनेको थियो । खेतलाई सेनाले भर्ती र प्रशिक्षण केन्द्रका साथै विनाशस्थलका रूपमा प्रयोग गरेको बताइएको छ ।एल मेन्चोलाई हटाउँदा परिदृश्यलाई शान्त पार्ने सन्दर्भमा ठ्याक्कै केही हुनेछैन, जसरी सिनालोआ कार्टेल नेताहरू जोआकिन एल चापो गुजम्यान र स्माइल एल मेयो जाम्बाडालाई अमेरिकामा सुपुर्दगी गरिएको थियो । बरु त्यसले सत्ताका लागि निरन्तर हिंसात्मक लडाइँ सुरु गरेको थियो ।

(फर्नान्डेज अलजजिराकी स्तम्भकार हुन्) अलजजिराबाट
 

सुझावित समाचार