मंगलबार १० बजेसम्मका १० मुख्य समाचार

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने भएको छ।

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी थप जगेडा फोर्स बढाउने निर्णय गरेको हो।

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्ने गरी कार्य गर्न निर्देशन दिए। बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

गगनलाई रविको कटाक्ष– २० वर्ष सांसद भएपछि बाटो बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

रास्वपाका सभापति रवि लामिछानेले २० वर्ष सांसद र मन्त्री भएपछि सडक बनाउन कानुन फेर्नुपर्ने ज्ञान पाएको भन्दै कांग्रेस सभापति गगन थापालाई कटाक्ष गरेका छन्।

मंगलबार इटहरीमा आयोजित पार्टीको चुनावी सभामा थापाको नाम उल्लेख नगरी लामिछानेले भने, ‘२० वर्षसम्म सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईंहरूलाई ? तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला।’

रास्वपाका वरिष्ठ नेता बालेन शाहले ठेकेदारलाई रुखमा बाँधेरै भए पनि सडक बनाउने अभिव्यक्ति दिएपछि थापाले कम्तीमा ४१ वटा कानुनमा सुधार नगरी ठेकेदारले सहज रूपमा काम गर्न नसक्ने बताएका थिए।

निर्वाचनको सुरक्षा तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

निर्वाचनको सुरक्षा तयारीबारे सुरक्षा निकायले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उपस्थितिमा प्रधानमन्त्रीनिवास बालुवाटारमा ब्रिफिङ र छलफल भएको हो। 

सुरक्षा निकायका प्रमुखहरूले अहिलेसम्मको तयारी तथा आगामी चुनौतीबारे जानकारी गराएका छन्। बैठकमा हिमाली क्षेत्रको सम्भावित मौसमी चुनौतीबारे पनि छलफल भएको एक अधिकारीले बताए।

सुनील पौडेलको सिंगापुरको बैंक खाताको विवरण राष्ट्र बैंकमार्फत झिकाउन आदेश

भ्रष्टाचार मुद्दामा कारागारमा रहेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषले सिंगापुरको बैंक खाताको आधिकारिता खोजेको हो। 

सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा करोडौँ रकम रहेको दाबी अख्तियारको थियो। यसअघि पनि कानुन मन्त्रालयमार्फत यस्तो विवरण बुझाउन भनेपनि सिंगापुर सरकारसँग पारस्पारिक कानुनी सहायता सन्धि नहुँदा सरकारले विवरण झिकाउन सकेको छैन । 

मंगलबार विशेष अदालतले विवरण प्राप्त हुन नसक्ने हो भने सोहीबमोजिमको जवाफ दिन मन्त्रालयलाई आदेश दिएको छ। 

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

तिनिधिसभाको निर्वाचनलाई लक्षित गरी सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ। मंगलबार मन्त्रिपरिषद्को बैठकले बिदासम्बन्धी निर्णय गरेको हो।

यसअघि गत आइतबार निर्वाचन आयोगले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउन तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो।

बालेन भन्छन्- कृषि, उद्योग र खेलकुदको विकास गरेर पूर्वको मुहार फेर्न चाहन्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वको विकासका लागि कृषि, उद्योग र खेलकुदलाई प्राथमिकतामा राख्ने बताएका छन्।

रास्वपाले मंगलबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पूर्वलाई कृषिमा आत्मनिर्भर बनाउने, पहाडमा उत्पादन भएको तरकारी तराईसम्म पुर्याउने सप्लाईचेन सुधार गर्ने र वर्षायाममा बाढी तथा हिउँदमा सिँचाइ समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाए।

साम्बाले भनिन्– उपचार खर्च जुटिसक्यो, सहयोग रोकिदिनुहोला

राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले उपचारका लागि आवश्यक रकम जुटिसकेको भन्दै सहयोग रोकिदिन समर्थकहरूलाई आग्रह गरेकी छिन्।

सामाजिक संजालमार्फत धन्यवाद ज्ञापन गर्दै साम्बाले आफ्नो नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी दिएकी छिन्।

‘मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघसंस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ। यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ। कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ। त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु,’ साम्बाले फेसबुकमा लेखेकी छिन्।

इतिहास र हिमाली यात्राको केन्द्र पाथीभरा देवीधाम

हिमाली जिल्ला ताप्लेजुङमा रहेको पाथीभरा देवी केवल पूजा–अर्चनाको स्थल मात्र होइन, यात्रा, आस्था र प्रकृतिको संगम बनेको जीवित धरोहर हो ।

कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा समुद्री सतहबाट ३,७९४ मिटर उचाइमा रहेको यो धामसम्म पुग्ने बाटो आफैँमा एउटा साधनाजस्तै मानिन्छ । मनोकामना पूरा हुने विश्वास र सांस्कृतिक सहअस्तित्वको अनुभूतिले वर्षभरि श्रद्धालु र पर्यटकलाई उकालो बाटोतर्फ डोर्याइरहन्छ ।

धामसम्म पुग्ने यात्रा प्रायः सुकेटार विमानस्थल वा फुङलिङ बजारबाट सुरु हुन्छ । काठमाडौंबाट ताप्लेजुङसम्म हवाई र स्थल दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाईमार्ग रोज्नेले करिब ५५ मिनेटको उडानमा सुकेटार पुग्न सकिन्छ । जहाँबाट काफ्लेपाटीसम्म ट्याक्सीमा गएर त्यहाँबाट करिब ४ देखि ६ घण्टाको पदयात्रापछि मन्दिरपरिसर पुगिन्छ । स्थलमार्ग रोज्ने यात्रुहरू झापा–इलाम हुँदै ताप्लेजुङ पुगेर त्यही मार्ग समात्छन् ।

उकालो चढाइ, घना वन, खुला आकाश र हिमाली हावाबिचको यात्रा श्रद्धा र प्रकृतिसँगको गहिरो साक्षात्कारमा रूपान्तरित हुन्छ । माथि उक्लिँदै जाँदा पूर्वी हिमालको मनोरम दृश्य, विशेषतः कञ्चनजंघा हिमशृंखलाको शिखरहरूले यात्रालाई अझ अर्थपूर्ण बनाइदिन्छन् ।

जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय

सरकारले जेन–जी परिषद् गठन गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले परिषद् गठनको निर्णय गरेको हो।

परिषद्ले नेपाल सरकार र जेन–जी प्रतिनिधिबिच भएको सम्झौता कार्यान्वयनका लागि पहल गर्नेछ।  सम्झौताको बुँदा नम्बर ९ मा ‘जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न, खबरदारी गर्न, सुशासन, दिगो विकास तथा समृद्धिका लागि नेपाल सरकारलाई सल्लाह, सुझाव र सहयोग प्रदान गर्नका लागि जेन–जी परिषद् गठन गरिने,’ उल्लेख छ।

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न आयोगको आग्रह

निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार कार्यक्रममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ।

आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा विभिन्न दल तथा उम्मेदवारबाट प्रचारप्रसारमा अवरोध भएको गुनासो र उजुरी प्राप्त भएको जनाएको छ। विभिन्न सञ्चारमाध्यमबाटसमेत यस्ता गतिविधिबारे जानकारी आएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३(१)(ङ) अनुसार कुनै दल, उम्मेदवार वा भ्रातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला बिथोल्न वा अवरोध गर्न नपाइने व्यवस्था छ। त्यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३को दफा २० अनुसार निर्वाचन प्रक्रियामा बाधा पुर्याएमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको आयोगले स्मरण गराएको छ।

 

सुझावित समाचार