गहुँमा आत्मनिर्भर बन्दै बर्दिया

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

बर्दिया जिल्ला पछिल्लो समयमा गहुँमा आत्मनिर्भर बन्दै गएको छ। कृषिमा आधुनिकीकरण र सिँचाइको सहज उपलब्धता भएसँगै बर्दिया गहुँमा आत्मनिर्भर बन्दै गएको हो।

जिल्लामा प्रतिहेक्टर ३.१७ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको एकीकृत पशुपक्षी विकास कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा २३ हजार २३५ हेक्टर जमिनमा गहुँ खेती भएको छ। त्यसअघि आर्थिक वर्ष २०८०/०८१ मा २३ हजार ३३५ हेक्टर तथा आर्थिक वर्ष २०७९/०८० मा २२ हजार ९ सय हेक्टरमा गहुँ खेती भएको तथ्यांक छ।

विगतको तुलनामा सिँचाइको सहज पहुँच र आधुनिकीकरणसँगै किसानहरू गहुँ खेतीतर्फ आकर्षित भएका हुन्। राजापुर नगरपालिका– ८ भिम्मापुरका पहाडी थारूले गहुँलाई कम सिँचाइ भए हुने भएकाले पनि गहुँ खेती गरेको बताए। उनले भने, ‘मैले २२ बिघामा गहुँ खेती गरेको छु। गत वर्षभन्दा अहिले गहुँ राम्रो छ। मैले प्रत्येक वर्ष ३ बाली भित्र्याउने छु।’

यसैगरी, गेरुवा गाउँपालिका– ३ बनकटीका रणबहादुर कडायतले पनि ३ बिघामा गहुँ खेती गरेको बताए। उनले भने, ‘पछिल्लो समय जनशक्तिको अभाव हुँदै गएको छ। गहुँ खेतीमा भने धेरै जनशक्ति नचाहिने भएको हुँदा पनि गहुँ खेती गरेको हुँ। कम लागतमा उत्पादन पनि राम्रो हुन्छ।’

गेरुवा गाउँपालिका– ५ सुखारका प्रभुराम चौधरीले पनि दुई बिघामा उन्नत जातको गहुँ लगाएका छन्। रासायनिक मल नपाउँदा र पालिकामा हुने विकासे कामले सिंचाइमा समस्या हुने भएकाले गहुँ खेती रोजेको उनको भनाइ छ।

जिल्लाका किसानहरूले बोरलङ २०२०, जिङ–२, वाणगङ्गा, विजय, गौतम बि.एल ४८१८, १२१२ र एनएल जातका गहुँ लगाउने गरेका एकीकृत कृषि तथा पशुपक्षि विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं  सूचना अधिकारी  फिर्तुमान चौधरीले जानकारी दिए। उनले भने, ‘गहुँ लगाउने किसान बढेसँगै जिल्ला गहुँमा आत्मनिर्भर भएको छ।’

सुझावित समाचार