आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर कञ्चनपुरका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचनका लागि तीन दिन सीमानाका बन्द हुने जनाएको हो।
फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म भारतसँग जोडिएको पूर्व डोकेबजारदेखि पुनर्वास, बेलौरी बेलडाँडी, दोधाराचाँदनी, भीमदत्तको गड्डाचौकी, ब्रह्मदेवका सबै नाकाहरूमा आवतजावत पूर्ण रूपमा बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए।
जोशीका अनुसार मतदान कार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन, ट्यांकर, दमकल, दुरसञ्चार सेवा, शववाहन, अस्पताल, विद्युत् सेवाजस्ता अत्यावश्यक सेवासहित नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोग, अनुमति प्राप्त सवारीसाधनबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण निषेध गरिनेछ।