मकवानपुरका संस्कृत शिक्षक उदिम पन्त ‘लक्ष्मण राजवंशी आदर्श गुरु सम्मान २०८२’बाट सम्मानित भएका छन्। ज्ञानार्जन भूमि विद्यालय (एलआरआई)ले आफ्नो ३८औँ वार्षिकोत्सवका अवसरमा पन्तलाई मंगलबार काठमाडौंमा सम्मान गरेको हो। पन्त हाल मकवानपुरस्थित हेटौंडा एकेडेमीमा संस्कृत विषय अध्यापन गराउँदै आएका छन्।
शिक्षा क्षेत्रमा लामो समयदेखि अमूल्य ज्ञान, समर्पण र अनुभवमार्फत हजारौँ विद्यार्थीको जीवन उज्यालो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार ‘लक्ष्मण राजवंशी आदर्श गुरु सम्मान’ शिक्षण पेसामा समर्पित भई उल्लेखनीय योगदान पुर्याउने शिक्षकलाई प्रदान गरिँदै आएको छ। विद्यालय परिवारले राष्ट्र निर्माणका लागि पन्तले पुर्याएको शैक्षिक योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उक्त सम्मान समर्पण गर्न पाउँदा गौरवान्वित भएको उल्लेख गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्लेले शिक्षामा पाश्चात्य प्रभाव बढ्दै गएको वर्तमान सन्दर्भमा मौलिक शिक्षाको जगेर्ना आजको आवश्यकता भएको बताए।
वार्षिकोत्सव समारोहमा विद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य व्यक्तित्वलाई पनि नगद तथा प्रमाणपत्रसहित सम्मान गरेको थियो।