धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा १२ देखि १४ फागुनसम्म शिविर सञ्चालन हुन लागेको हो । शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरू लाभान्वित हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार पहिलो चरणमा धनगढीमा सुषमा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो । उक्त शिविरबाट एक सय २० जनाभन्दा बढी लाभग्राही लाभान्वित हुने बैंकको अपेक्षा छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा पनि प्रदान गरिने बैंकले जनाएको छ । बैंकले शिविर सञ्चालन गर्नका लागि कीर्तिपुर अस्पतालअन्तर्गतको फेक्ट नेपाल र सुषमा कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरिरहेको छ ।
शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, कपाल गुमाएकाहरू, हातका औँला टाँसिएकाहरू, हात र खुट्टामा पाँचवटाभन्दा बढी औँला टाँसिएकाहरू, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएका तथा खुट्टाको पैतलाभित्रतिर फर्किएकाहरूले निःशुल्क
उपचार पाउनेछन् ।
साथै, जटिल समस्या भएका बिरामीलाई काठमाडौंको साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिलाई उपचार गरी उनीहरूको जीवनमा सुधार ल्याउने प्रयासस्वरूप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।