महिला डिजिटल सशक्तीकरणको लागि फागुन ३० गते स्टार क्रिकेट आयोजना हुने भएको छ। आयोजक आइडिया पिक्सेलको सहायक कम्पनी आइडिया स्पोर्ट्सले सोमबार होटल अलफ्टमा पत्रकार सम्मेलन गर्दै स्टार क्रिकेट सिजन–२ को मिति तय गरेको हो।
एकदिने क्रिकेट प्रतियोगिता काठमाडौंको मूलपानी मैदानमा आयोजना हुनेछ। जुन खेलमा सर्वसाधारणलाई निःशुल्क प्रवेश गराइनेछ। स्टार क्रिकेट सिजन–२ कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत रहेको आयोजकले जनाएको छ।
आयोजक समितिका संस्थापक पवनराज जोशीले पहिलो संस्करण भव्य सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएको बताए। ‘पहिलो संस्करण भव्यरुपमा सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएका हौं,’ उनले भने, ‘दोस्रो संस्करणले क्रिकेटको माध्यमबाट चलचित्र क्षेत्रका कलाकार, खेलाडी, मिडिया व्यक्तित्व, कर्पोरेट प्रोफेसनलहरू तथा डिजिटल क्रिएटरहरू सबै एकै मैदानमा उत्रिएर क्रिकेट खेललाई अगाडी बढाउन प्रोत्साहन हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरेका छौं। हामी क्रिकेटलाई मनोरञ्जन, व्यवसाय र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गर्दछौं।’
पत्रकार सम्मेलनमा आइडिया स्पोर्ट्सका संयोजक जोशी र शृष्टि फाउन्डेसनकी अध्यक्ष शृष्टि मदन कार्कीबीच सम्झौता भयो। कार्यक्रममा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ पनि सहभागी थिए।
प्रतियोगिताको लागि आयोजकले श्रृष्टि फाउन्डेसनसँग पनि सहकार्य गरेको छ। प्रतियोगिताबाट ग्रामीण नेपालका महिलाहरु सूचना प्रविधिमा शिक्षित, सशक्तीकरण र प्रोत्साहित हुने अपेक्षा गरिएको छ।
टी–१० फर्म्याटमा आयोजना हुने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्। सहभागी टिमलाई २ समूहमा विभाजन गरिनेछ। त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने आयोजक आइडिया स्पोर्ट्सले जनाएको छ। हरेक टिममा नेपाली सेलिब्रेटी, सामाजिक सञ्जालमा प्रभाव जमाएका व्यक्तित्व, मिडियाकर्मी र राष्ट्रिय खेलाडी तथा क्रिकेटरहरु समावेश हुने बताइएको छ।