मकवानपुर- १ का नेकपा उम्मेदवारको एजेन्डामा ‘ग्रेटर हेटौँडा चक्रपथ’देखि सुशासनसम्म

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुर–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजय गौतमले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। गौतमले भ्रष्टाचार, कमिसन र तस्करीजस्ता बेथितिको अन्त्य गर्दै सुशासन, विकास र समृद्धिसहितको स्थिर सरकार निर्माणको एजेन्डा अघि सार्दै सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धतापत्रमा गौतमले ‘ग्रेटर हेटौंडा चक्रपथ’ निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन्। साथै, हेटौँडा उपमहानगरपालिकालाई महानगर बनाउने पहल, कर्रा, राप्ती तथा बागमती नदी करिडोर निर्माण, ग्रामीण सडक स्तरोन्नति तथा बाह्रै महिना सञ्चालनयोग्य सडक विस्तारमा जोड दिएका छन्।

राजमार्ग ऐनअन्तर्गत नगर विस्तारका क्रममा पीडित पक्षलाई उचित मुआब्जा र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने कुरा पनि उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्। यस्तै गौतमले प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच, सबै वडामा इन्टरनेट सेवा विस्तार तथा एकीकृत नमुना बस्ती विकास कार्यक्रमलाई उच्च प्राथमिकता दिने बताएका छन्।

भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासनका लागि खबरदारी गर्ने प्रतिबद्धता जनाउँदै डिजिटल सेवा विस्तार, ई–सेवा प्रणाली सुदृढीकरण तथा जनप्रतिनिधि–जनता प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले अघि सारेका छन्।

गढी, बकैया, बागमती र हेटौँडाका विभिन्न क्षेत्रमा व्यावसायिक कृषि जोन विकास, सिँचाइ सुविधा विस्तार र पशुपालन प्रवर्द्धनमार्फत् उत्पादन वृद्धि गर्ने तथा हेटौँडा औद्योगिक क्षेत्र विस्तार, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन, साना तथा घरेलु उद्योग प्रवद्र्धन र युवालाई सहुलियत ऋणमार्फत उद्यमशीलता विकास गर्ने योजना प्रतिबद्धता पत्रमा समेटिएको छ।

मकवानपुरको ऐतिहासिक मकवानपुरगढी दरबार संरक्षण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन, होमस्टे विकास र आन्तरिक पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने योजना पनि समावेश गरिएको छ।

गुणस्तरीय सामुदायिक विद्यालय, प्राविधिक तथा सीपमूलक शिक्षा केन्द्र स्थापना, विपन्न वर्गका लागि छात्रवृत्ति तथा गाउँपालिकास्तरमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने घोषणा गरिएको छ। हेटौँडा अस्पतालमा विशेषज्ञ सेवा विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।

गौतमले युवा, महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति तथा अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोष वृद्धि, ‘एक वडा एक महिला उद्यम’ कार्यक्रम र शिशु स्याहार केन्द्र स्थापना गर्ने योजना अघि सारेका छन्।

बागमती, बकैया तथा मकवानपुरगढी क्षेत्रमा बाढीपहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना, चुरे संरक्षण, हरित ऊर्जा प्रवर्द्धन र ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। गौतमले वन, नदी र प्राकृतिक स्रोत संरक्षणसँगै लालपुर्जा वितरणको समस्यालाई उच्च प्राथमिकतामा राख्ने बताएका छन्।

सुझावित समाचार