नेसनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ। काठमाडौंस्थित होटेल ह्यात सेन्ट्रिकमा सम्पन्न कार्यक्रमको कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंंहले उद्घाटन गरेकी थिइन्।
अध्यक्ष सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भूमिका खेल्ने कर्मचारी, अभिकर्ता, बिमित वर्ग, शुभेच्छुक, सरोकारवालाहरू तथा सबैप्रति हार्दिक आभार व्यक्त गरिन्। प्रविधिमा थप दक्ष बनाउन सम्पूर्ण प्रशासनिक कर्मचारीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विस्तृत तालिम प्रदान गरिएको जानकारी दिँदै उनले यसप्रकारका तालिमलाई निरन्तरता दिने बताइन्।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बिमितलगायत सरोकारवाला सबैको साथ र सदभावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई शैक्षिक सामग्री वितरणसहित त्यहाँ रहेका बालबालिकाहरूलाई खाना खुवाउनुका साथै रक्तदान कार्यक्रमसमेत सम्पन्न गर्याे। सो अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रमजस्ता संस्थाहरूमा यसप्रकारका कार्यक्रमहरू आयोजना गरेको बताइएको छ।
उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारीरिक तथा मानसिक रूपमा सबल र सक्षम बनाउने उद्देश्यले अन्तरकर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेबलटेनिस र बुद्धिचालजस्ता खेल प्रतियोगिताहरू आयोजना गरिएको बताए।
वार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले विविध खेलकुदमा विजेता कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र र रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरेकी थिइन्।