राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज हेटौँडामा आयोजना गर्ने बृहत् आमसभामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी नहुने भएका छन् । यसअघि सार्वजनिक कार्यक्रम तालिकामा बालेन पार्टी सभापति रवि लामिछाने र बालेन उपस्थित हुने भनिएको थियो ।
अन्तिम समयमा वरिष्ठ नेता बालेन उपस्थित हुन नसक्ने रास्वपा मकवानपुरका जिल्ला सचिव सञ्जीव पाठकले जानकारी दिए । बालेनको अनुपस्थितिबारे स्पष्ट कारण भने सार्वजनिक गरिएको छैन ।
यद्यपि, आमसभामा पार्टी सभापति रवि लामिछाने र अभियन्ता रमेश प्रसाईं सहभागी हुने कार्यक्रम यथावत् रहेको सचिव पाठकले बताए । दिउँसो २ बजेका लागि तय गरिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको उनको भनाइ छ ।
चितवनमा सम्पन्न प्रदेशस्तरीय कार्यक्रमपछि हेटौँडामा आमसभा आयोजना गर्न लागिएको पाठकले स्पष्ट पारे । रास्वपाले आमसभामार्फत समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्नुका साथै संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारलाई जोड दिने जनाएको छ ।