पहाडबाट अन्यन्त्र बसाइँ सर्ने क्रम बढेसँगै पहाडका अधिकांश खेतबारी बाँझो रहेका छन् । खेतबारीमा बालीनाली नलगाएपछि जंगली जनावरको प्रकोप दिन प्रतिदिन बढ्दो छ ।
यसको प्रत्यक्ष असर धनकुटामा पनि देखिएको छ । अधिकांश जग्गाजमीन बाँझो भएपछि जंगली जनावरहरू खास गरेर बाँदरले अहिले मान्छेकाे घरघर, बजारतिर पनि आउने गरेको छ । त्यसमा पनि यसको प्रत्यक्ष असर किसानहरूमा देखिएको पाइन्छ । यसैलाई मध्यनजर गर्दै बाँदर धपाउनका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले बाँदर हेरालु नै नियुक्त गरेको छ ।
कृषकले लगाएको बालीनालीमा क्षति पुर्याएर प्रत्यक्ष असर गर्न थालेपछि बाँदर नियन्त्रणका लागि नगरपालिकाले बाँदर धपाउन हेरालु नै नियुक्त गरेको हो । पाख्रीबास नगरपालिकाले पहिलो चरणमा दैनिक ज्यालादारीमा दुईजना पुरुषलाई बाँदर हेरालुको रूपमा नियुक्त गरेको छ । उनीहरूलाई गमबुट, टर्च, गुलेली र लौरो उपलब्ध गराएर गस्तीमा खटाएको पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले बताए । ती बाँदर हेरालु नगरपालिकाको सबै वडाहरूमा पुग्नेछन् । स्थानीयले खबर गरेअनुसार स्थानीयको सहयोगमा उनीहरूले काम गर्ने नगर प्रमुख गुरुङको भनाइ छ ।
१० वटा वडा रहेको पाख्रीबास नगरपालिकामा दुईजना बाँदर हेरालुले त सम्भव छैन । पहिलो चरणमा यो परीक्षण काल हो । यसको प्रभावको आधारमा आगामी दिनमा जनशक्ति बढाउँदै लैजान सकिने नगरपालिकाले जनाएको छ । बाँदरले कृषकहरूले लगाएको बालीनालीमा ठुलो क्षति पुर्याउनुको साथै उनीहरू समूहमा धेरै हुने भएकोले बालबालिका, महिला तथा वृद्धवृद्धाहरूलाई आक्रमण गर्न पनि सक्ने सम्भावना देखिएकाले बाँदर हेरालु परिचालन गरिएको नगरपालिकाले जनाएको छ । धनकुटाको प्रायः सबै पालिकाहरूमा बाँदरको आतंक बढ्दै गएको छ ।