धादिङको भैँसीगौँडामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५, चरौँदी नजिकै भैँसीगौँडामा यात्रुबस त्रिशूली किनारमा खस्दा घटनास्थलमै १७ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा परी घाइते भएर काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत एकजनाको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको हो । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ख १४२१ नम्बरको यात्रुवाहक बस राति करिब साढे १ बजे त्रिशूली किनारमा खसेको थियो ।
दुर्घटनामा परी घाइते भएका २७ जनाको घटनास्थलबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताए । बसमा ४४ जना सवार थिए । मृतकहरूको सनाखत हुन बाँकी रहेको उनले बताए ।
दुर्घटनामा परी घाइते भएकाहरू २६ जनाको विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।