निर्वाचन आयोगले निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन दिएको छ। सुरक्षाको विषयलाई मध्यनजर गर्दै आयोगले धातु र काठजस्ता सामग्रीबाट बनेको भौतिक स्वरूपका चिह्न प्रयोग नगर्न निर्देशन दिएको हो।
कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न भने सकिने आयोगले प्रस्ट पारेको छ।
‘...राजनीतिक दल वा उम्मेदवारले आमजनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरूपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड)मा तोकिएबमोजिमको मापदण्डबमोजिम दलको झन्डा र चुनाव चिह्नको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ,’ आयोगले भनेको छ।
