गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न महाधिवेशनमा उपाध्यक्ष पदका लागि प्रविन गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनी हाल संघको उपमहासचिव छन्।
कतारमा रहेर व्यवसाय गर्दै आएका गुरुङ एनआरएनए कतारको उपाध्यक्ष भएर संघमा आबद्ध भएका थिए। त्यसपछि मध्यपूर्व डिआरसी, क्षेत्रीय संयोजक, केन्द्रीय सचिव हुँदै उपमहासचिवसम्म भइसकेका छन्।
गुरुङले श्रम क्षेत्रको कूटनीति संयन्त्र र एनआरएनए सञ्जालबिच प्रभावकारी समन्वय गर्दै समस्यामा परेका नेपालीहरूको उद्धार, कानुनी सहजीकरण, स्वास्थ्य सहयोग तथा सामाजिक सुरक्षा अभियानमा सघाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन्।
उनले मध्यपूर्व (कतार, साउदी अरब, युएई, कुवेत, ओमान र बहराइन)का प्रतिनिधिसहित एसिया प्यासिफिक, अमेरिका र युरोपियन जोनबाट समर्थन प्राप्त गरेको दाबी गरेका छन्। संघको १२औँ महाधिवेशन आगामी ३० फागुनदेखि काठमाडौंमा आयोजना हुने कार्यतालिका छ।