राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) फागुन ११ गते सोमबार हेटौँडा आउने भएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना हुने सभा तथा भेटघाट कार्यक्रममा सहभागी हुन उनीहरू आउने तयारी भइरहेको पार्टीका जिल्ला सचिव सञ्जीव पाठकले जानकारी दिए ।
सचिव पाठकका अनुसार चितवनमा सम्पन्न प्रदेशस्तरीय कार्यक्रमपछि हेटौँडामा सभा आयोजना गर्न लागिएको हो । उनका अनुसार नेताद्वय दिउँसो २ बजे तय गरिएको कार्यक्रमका लागि हेटौँडा आइपुग्ने कार्यतालिका छ । कार्यक्रमस्थलको तयारी पूरा भइसकेको जनाउँदै सचिव पाठकले कुनै कारणवश कार्यक्रम स्थगित नहुने स्पष्ट पारे ।