चौथो मिल्स भेट्रान्स गोल्डकपको उपाधि आयोजकलाई

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशस्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) ले जितेको छ । 

विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी भेट्रान्स क्लब’लाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बनेको हो ।
उपाधिसँगै आयोजक मिल्स भेट्रान्सले नगद ८१ हजार १११ रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता बनेको इटहरी भेट्रान्सले नगद ४१ हजार १११ रुपैयाँसहित ट्रफीमा चित्त बुझायो ।

आयोजकको जितमा डेनिम राईले निर्णायक गोल गरे । कप्तान रानु राना मगरले डिबक्स बाहिरबाट उपलब्ध गराएको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै राईले बललाई जाली चुमाएका थिए । सोही गोल नै टिमको जितका लागि पर्याप्त बन्यो ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ आयोजककै दिलीप बाँस्कोटा ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए । त्यसैगरी, आयोजककै सुरज श्रेष्ठ प्रतियोगिताको सर्वाधिक गोलकर्ता (हाई स्कोरर) बने । उनले प्रतियोगिताभर कुल तीन गोल गरेका थिए । प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’ भने कोमल खवास घोषित भए ।

कोशी प्रदेशका वन तथा पर्यटनमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो । विजेता तथा उपविजेता खेलाडीहरूलाई विराटनगर– १६ का वडाध्यक्ष उद्धवकुमार भुजेल, मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईलगायतले पुरस्कार वितरण गरेका थिए ।

गत फागुन ६ गतेदेखि मिल्स भेट्रान्स क्लब, रानीको आयोजनामा सुरु भएको यस प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागिता रहेको थियो ।
 

सुझावित समाचार